गत वर्ष बैबाहिक जीवनमा बाँधिएर हाल अमेरिकामा रहेकी नेपाली फिल्म अभिनेत्री अशिष्मा नकर्मीले त्यहाँ पुगेर पनि आफ्नोे अभिनय यात्रालाई विश्राम दिएकी छैनन् ।
पुनः नेपाल फर्किएर फिल्ममा व्यस्त हुने सोचमा रहेकी उनले हालै एक तीज गीतको भिडियोमा अभिनय गरेकी छन् । अमेरिकाको क्यालिफोर्निया बस्दै आइरहेकी गायिका लक्ष्मी खरेल थापाको नयाँ तीज गीतमा अभिनेत्री नकर्मीले ठुम्का लगाएकी छन् ।
‘सितारा भरेको साडीमा’ बोलको गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन् भने नरेन्द्र प्यासीले संगीत भरेका हुन् ।
क्यालिफोर्नियाको बे एरियामा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोलाई फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् । उनले 'मिस यू', 'थी लभर्स' सहित आधा दर्जन नेपाली फिल्म निर्देशन गरिसकेका छन् ।
सुरेशकै प्रोडक्सन हाउस मायाले प्रस्तुत गरेको सार्वजनिक भिडियोमा डान्सको जिम्मा रीमा रेले सम्हालेकी छिन् ।

