बलिउडमा अचेल बायोपिक बनाउने ट्रेन्ड चलेको छ । अभिनेता सनी देओललाई पनि आफ्ना पिता तथा प्रतिष्ठित अभिनेता धर्मेन्द्रको बायोपिक बनाउने इच्छा छ । राम्रो लेखक र निर्देशक भेटिए उनी पिताको बायोपिक फिल्म बनाउन तयार छन् ।
मिडियासँगको कुराकानीमा सनीले भने, 'आजकाल बायोपिक बनाउने ट्रेन्ड निस्किएको छ । यो राम्रो आइडिया हो । म पनि पितामाथि बायोपिक बनाउन इच्छुक छु । तर, पिताको जिन्दगीलाई सटिक ढंगबाट बताउन एक राम्रो राइटर र डाइरेक्टर चाहन्छ ।'

पिताको बायोपिक बनाउन सजिलो नहुने उनको तर्क छ । लेखकले आफ्नो बहुमुल्य समय दिएको खण्डमा मात्र त्यो सम्भव रहेको उनी बताउँछन् । 'त्यसो त मेरो पिताको बारेमा जो कोही जान्दछन् । तर, त्यसलाई देखाउने ढंग अलग हुनुपर्छ । रिसर्चमा कुनै समस्या हुने छैन किनकी पिता आफ्नो स्टोरी शेयर गर्नका लागि हुनुहुन्छ', उनले भने ।
के पर्दामा पिताको भूमिका गर्न इच्छुक हुनुहुन्छ ? यस प्रश्नमा उनी भन्छन्, 'मैले यस बारेमा सोचेको छैन । म मात्र होइन मेरो छोराले पनि पिताको बायोपिकमा उहाँको योङ्गर पार्ट निभाउन सक्छ । तर, यो सबै स्टोरीमा भर पर्छ ।'
सनी देओलको ३१ अगस्टमा पिता धर्मेन्द्र र भाई बबीसँग कमेडी फिल्म 'यमला पगला दीवाना ३' रिलिज हुँदैछ । अहिले यसको पूरा टिम फिल्मको प्रमोसनमा व्यस्त छ । फिल्मलाई निर्देशन नवनैत सिंहले गरेका हुन् ।

