Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ५’ : प्रचार सामान्य, व्यापार के होला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/23
‘नाईं नभन्नू ल’ को पाँचौ सिरिजको यतिबेला दर्शकमा व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको ‘नाईं नभन्नू ल ५’ को गीतसंगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण फिल्मको इनिसियल व्यापार आक्रामक हुने फिल्मी पण्डितहरुको आँकलन छ । 
 
यस फिल्मका कुनै पनि सिरिज बक्सअफिसमा असफल छैनन् । व्यापारमा तलमाथि भएपनि लगातार चार सिरिजले घरेलू बजारमा राम्रो पैसा छापेका थिए । यसकारण निर्माण टिम पाँचौ श्रृंखला पनि सफल हुनेमा विश्वस्त देखिएको छ । 
 
भेट्रोन निर्देशक तथा निर्माता विकासराज आचार्यले फिल्मको प्रचार पनि गतिलो गरेका छैनन् । पछिल्लो समय दर्शकलाई फिल्मप्रति आकर्षित गर्न फिल्ममेकरले अनेकन फण्डा अपनाउँछन् । ‘नाईं नभन्नू ल ५’ भने यसबाट पूरै टाढा छ । हुनत, यस फिल्मका कुनै पनि श्रृंखलाको प्रचार आक्रामक शैलीमा गरिएको थिएन । 
 
सीमित सञ्चारमाध्यमबाट मात्र फिल्मको जानकारी दर्शकमाझ पुर्‍याइएको थियो । पाँचौ सिरिजमा पनि पुरानै प्रचार शैलीले निरन्तरता पाएको छ । निर्देशक आचार्य नेपाली फिल्मका नियमित दर्शकलाई ‘नाईं नभन्नू ल ५’ भाद्र ८ गते आउने कुरा जानकारी भइसकेकोमा विश्वस्त सुनिन्छन् । 
 
 
उनी भन्छन्, 'गीत र ट्रेलरमार्फत् फिल्म कहिले आउँछ भन्ने अधिकांश नेपालीलाई थाहा भइसकेको छ । रोड कन्सर्ट, कलेज क्याम्पियन, उपहारका योजना र कुनै प्रतिस्पर्धाको घोषणा आजसम्म मैले गरेको छैन र यसपटक पनि गरिनँ ।' फिल्मका लागि पुग्ने प्रचार गरेको उनको तर्क छ । 
 
बर्षमा सय बढी फिल्म रिलिज हुने हुँदा दर्शक कुन मितिमा कुन फिल्म रिलिज हुँदैछ अनविज्ञ हुन्छन् । प्रचारले दर्शक फिल्मको विषयमा साक्षर हुने मौका पाउँछन् र, यसको प्रभाव फिल्मको इनिसियल व्यापारमा पर्ने विश्वास छ । केही फिल्मको हकमा यो नदेखिएको होइन । 
 
‘नाईं नभन्नू ल’ टिमलाई भने प्रचारमा खासै विश्वास देखिन्न । चर्चित फ्रेन्चाइज भएका कारण दर्शकलाई हलसम्म तान्न गाह्रो नहुने सोचाई निर्मातामा छ । उता ‘नाईं नभन्नू ल ५’ मा अभिनय गर्ने प्रमुख कलाकारहरु पनि उस्तै व्यस्त छन् । लिड अभिनेत्री स्वस्तिमा खड्कादेखि प्रियंका कार्कीलाई एकपछि अर्को फिल्मबाट एकदिन फुर्सद छैन । 
 
कलाकारलाई त काइदा भएको छ । अन्य फिल्मका मेकर प्रचारमा नहिँडेको भन्दै रोइलो गर्छन् तर, ‘नाईं नभन्नू ल’ का निर्माताको कुनै चित्त दुखाई नै छैन । अब सामान्य प्रचारले फिल्मको इनिसियल व्यापारमा चाहिँ कस्तो प्रभाव पार्ला ? हेर्न बाँकी छ । 
 
हुनत, ‘नाईं नभन्नू ल’ आफैंमा एक ब्रान्ड हो । उक्त फिल्मका कुनै न कुनै सिरिजसँग प्रायः नेपालीको भेट भएको छ । मर्मस्पर्शी गीतसंगीत, बाल कलाकार अनुभव रेग्मीको उपस्थिति र इमोसनल कथाले यो फिल्मको परिचयको घेरो थप फराकिलो हुँदै गएको छ । 
 
केकी अधिकारी, निरुता सिंह, स्वस्तिमा खड्का, दीलिप रायमाझी पहिलो पटक यो सिरिजसँग आबद्ध भएका छन् । यस्तै, ‘नाईं नभन्नू ल ५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव-नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् । 
Most Visited News (monthly)