नेपाली फिल्मको इतिहासमा पहिलो पटक सर्वाधिक लगानीमा फिल्म ‘पासवर्ड’ निर्माण हुने भएको छ । २/४ करोड नभई यस फिल्मको बजेट ३० करोड हुने बताइएको छ । सम्राट बस्नेतले निर्देशन गर्ने फिल्मको छायांकन आइतवारबाट लन्डनमा सुरु हुँदैछ ।
९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेश गर्नेछ । विक्की जोशी, दुई नव-नायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत फिल्मका मुख्य कलाकार हुन् ।
यसमा अनुपको नेगेटिभ रोल छ । सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने फिल्ममा संगीत अर्जुन पोखरेलको हुनेछ । फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित व्रिटिस फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरेर निर्माण गर्न लागिएको निर्देशक बस्नेतले जानकारी दिए ।

बलिउड अभिनेत्री सनी लियोनीले अभिनय गर्न लागेका कारण पनि यो फिल्म अहिले खबरमा छ । यसमा उनको आइटम डान्स र स्पेसल अपिरिएन्स हुने निर्माण टिमबाट जानकारी प्राप्त छ । स्रोतका अनुसार, आइटम डान्सका लागि सनीले नेपाली २ करोड बुझेकी छन् ।
उनले फिल्मका मुख्य अभिनेता विक्की जोशीसँग स्क्रिन साझेदार गर्नेछिन् । सन्नी यसका लागि केही सातामै लन्डन पुग्नेछिन् । गीतलाई भारतबाटै आउने कोरियोग्राफरसहितको टीमले नृत्य निर्देशन गर्नेछ ।
अमित बस्नेत र हिरल जोशी ‘पासवर्ड’ का निर्माता हुन् । सौरभ लामाको छायांकन हुने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । आगामी जनवरी २०१९ मा फिल्मलाई नेपाल रिलिज गर्ने लक्ष्य राखिएको छ ।

