अहिले बी–टाउनमा हट गसिप बनेको छ, नेपाली फिल्मका दुई प्रतिस्पर्धी अभिनेत्री बर्षाबीच सम्बन्ध सन्तुलित छैन । अभिनेत्री बर्षा सिवाकोटीले छाडेको फिल्म एकपछि अर्को उनकै प्रतिस्पर्धी अभिनेत्री बर्षा राउतले गर्नुले पनि यो गसिपलाई थप बलियो बनाएको छ ।
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'मेरो पैसा खोई ?' बाट दुई बर्षाबीच दुश्मनीको बिउ रोपिएको थियो । उक्त फिल्ममा राउतको इन्ट्री भएपछि सिवाकोटीले हात झिकेकी थिइन् । राउतको छायाँमा पर्ने डरले उनले उक्त फिल्म छाडेको चर्चा छ ।
दुई बर्षाबीच 'इन-आउट' को प्रतिस्पर्धा दोस्रो पटक पनि चल्यो । हालै मात्र सिवाकोटीले फिल्म 'गोपी' छाडिन् । उनले फिल्मबाट हात झिकेको २४ घण्टामा अभिनेत्री राउत 'इन' भइन् । सिवाकोटीले स्क्रिप्ट र भूमिकामा दम नदेखेको भन्दै 'गोपी' छाडेकी थिइन् । उता राउतले भूमिका र स्क्रिप्ट चित्त बुझेको भन्दै फिल्म साइन गरिन् ।
दुई बर्षाबीच चलिरहेको रोचक द्वन्द्वले यतिबेला जो कोहीलाई अचम्मित बनाएको छ । यसलाई दुश्मनी भन्ने वा मित्रता ? ठम्याउन गाह्रो छ । दुई बर्षाले एकअर्कासँग कुनै दुश्मनी नभएको बताउँदै आएपनि विस्तारै बाहिर देखिएको आवरण सक्कली नभएको छर्लङ्ग हुँदै गएको छ ।
सामाजिक सञ्जालमा अभिनेत्री राउतलाई लक्षित गर्दै बनाइएको एउटा ट्रोल अभिनेत्री सिवाकोटीले केही दिन अगाडि आफ्नो इन्स्टाग्रामको स्टोरीमा राखेकी थिइन् । आफूलाई होच्याएर बनाइएको ट्रोल शिवाकोटीले सेयर गर्दा राउतले चित्त दुखाएकी छन् ।

'पशुपतिप्रसाद' फेम्ड अभिनेत्रीले घुमाउरो शैलीमा आफूले फिल्म छाडेपछि बर्षा राउतले काम पाएको र आफूलाई 'धन्यवाद' भन्नु पर्ने भन्दै अन्तर्वार्ता समेत दिइन् । विभिन्न तरिकाबाट बर्षा आफूमाथि खनिरहँदा अभिनेत्री राउतको यतिबेला थोरै पारो चढेको छैन ।
मंगलवार 'गोपी' का लिड अभिनेता विपिन कार्कीको ३५ औं जन्मदिन मनाउने क्रममा अभिनेत्री राउतले अर्की बर्षालाई जवाफ दिने उपयूक्त ठाउँ पाइन् । उनले बर्षालाई धन्यवाद दिँदै भनिन्, 'उहाँले गर्दा मैले यस्तो राम्रो फिल्म र टिमसँग आबद्ध हुन पाएँ । र, यस्तै कृपा-दृष्टि बनाइराखुन् भगवानले पनि ।'
उनले यसअघि 'मेरो पैसा खोई ?' मा आफूले बर्षालाई रिप्लेस नगरेको पनि बताइन् । 'उहाँलाई उक्त फिल्ममा मैले रिप्लेस गरेको भन्ने भ्रम रहेछ । म त्यो फिल्ममा भित्रिँदासम्म उहाँ यथावत हुनुहुन्थ्यो । म आएपछि उहाँ बाहिरिनु भयो । हाम्रो त्यसमा भूमिका फरक-फरक थियो', उनले भनिन् ।
उनले 'गोपी' मा मात्र बर्षाको रिप्लेसमा आफू आएको स्पष्ट पारिन् । पत्रकारको प्रश्नको जवाफ दिँदा उनले बर्षाको नाम काहीँ उच्चारण गरिनन् । उनले पटक-पटक 'उहाँ' भनेर मात्र सम्बोधन गरेकी थिइन् । पत्रकारको आग्रहपछि मात्र उनले कठिनपूर्वक बर्षाको पूरा नाम लिइन् ।
दुई बर्षाबीच अहिले ‘पानी बाराबार’ को अवस्था रहेको यी कुराले पनि पुष्टि गर्छ । प्रोफेसनल लाइफका प्रतिस्पर्धी दुई बर्षाको अब रियल लाइफमा पनि सुरु भएको शितयुद्धले अझै कुन रुप लिन बाँकी छ ? यो त समयले नै खुलाउँदै जानेछ ।
एउटा तीतोसत्य चाहिँ के हो भने फिल्म क्षेत्रमा कसैसँग सम्बन्ध बिग्रनु र सुध्रनु नौलो होइन । यहाँ प्रगाढ सम्बन्ध क्षणभरमै वारपार भएका र बर्षौदेखिको शितयुद्ध पलभरमै अन्त्य भएका उदाहरण प्रशस्तै छन् । यसकारण दुई बर्षाबीचको 'वार' लाई सामान्य रुपमा लिन सकिन्छ ।

