Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

यसकारण प्रतिक्षीत बन्दैछ ‘रामकहानी’ !

फिल्मीखबर, काठमाण्डौ, 2018/08/21
यस वर्ष दर्शकमाझ व्यग्र प्रतिक्षा भइरहेको फिल्म मध्येको एक हो ‘रामकहानी’ । निर्देशक सुदर्शन थापाले निर्देशन गरेका कारण पनि फिल्मप्रति चासो राख्ने दर्शकमा भाद्र २२ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको प्रतिक्षा अलि बढी नै देखिन्छ । 
 
 
लभस्टोरी फिल्म बनाउन माहिर मानिने उनले 'मेरो एउटा साथी छ',' प्रेमगीत', 'म यस्तो गीत गाउँछु' जस्ता दर्शकको नजरमा उत्कृष्ट ठहरिएका फिल्म निर्देशन गरिसकेका छन् । उनलाई दर्शकको नाडी छामेर फिल्म निर्देशन गर्ने निर्देशक भन्ने गरिन्छ । 
 
पछिल्लो पुस्ताले जस्तो फिल्म रुचाउँछन् उनले सोही अनुरुप आफ्नो निर्देशकिय शैलीलाई तिखार्दै लगेका छन् । जसको एउटा मिठो फल ‘रामकहानी’ हुनसक्ने गीतसंगीत र ट्रेलरबाट धेरथोर आँकलन गरिएको छ । 
 
 
प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक थापाले गतिलो प्याकेज लिएर आएको हाल यूट्युबमा सर्वाधिक रुचाइएको ट्रेलरबाट पनि महशुश गर्न सकिन्छ ।
 
यो फिल्मप्रति दर्शकको चासो र कौतुहलता बढ्नुको पछाडि धेरै कारण छन् । पछिल्लो पुस्तामा सर्वाधिक खोजिने नायिका पूजा शर्मा 'रामकहानी' की लिड एक्ट्रेस हुन् । 'प्रेमगीत' र 'म यस्तो गीत गाउँछु' पछि युवा पुस्तामा उनको क्रेज लोभलाग्दो छ । 
 
 
हाल प्रदर्शनरत फिल्म 'ब्ल्याक' का कारण चर्चामा रहेका चकलेटी ब्वाई आकाश श्रेष्ठको पनि फिल्ममा मुख्य भूमिका रहेका कारण दर्शक फिल्मको रिलिज क्यालेन्डर पल्टाएर बसेका छन् । यसमा उनको अपोजिटमा पूजा छिन् । 
 
उक्त फिल्म दर्शकमाझ विशेष बन्नुको पछाडि नाम चलेका हास्य कलाकारहरुको बाहुल्यता हुनु पनि एक हो । 'छक्का पञ्जा' सिरिजका प्रसिद्ध कलाकार केदार घिमिरे, जितु नेपालसँगै विल्सन विक्रम राई, रबिन्द्र झाको 'रामकहानी' मा प्रमुख भूमिका छ । 
 
 
अझ, 'तिम्रो लागि म छु' गीत र ट्रेलरमा देखिएको पूजाको भूत अवतारले पनि धेरैलाई फिल्मप्रति कौतुहलता सृजना गरेको छ । ट्रेलरबाट उक्त फिल्म लभ, इमोसन, कमेडी र हररको प्याकेज रहेको अनुमान गरिएको छ ।
 
देखाउने दाँत झैं फिल्मको चपाउने दाँत बलियो छ या छैन ? अब यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । यस्तैमा, गीतसंगीत र ट्रेलरले फिल्मको हाइप चुल्याउँदै गर्दा निर्माण टिमले छायांकनको क्रममा पर्दा पछाडि निकै रमाइलो तश्बिरहरु रिभिल गरेको छ । 
 
 
फिल्मको छायांकनको बेला कलाकार केदार घिमिरेले २५ हजारको खसी काटेर पूरा टिमलाई खुवाएको खबरले मिडियामा ठूलै चर्चा पाएको थियो । उनी १० लाख पारिश्रमिकमा अनुबन्ध भएको कुरा त अब नौलो रहेन । 
 
निर्देशक थापा भन्छन्- 'एउटा फिल्म निर्माण हुनका लागि सय भन्दा बढी सदस्यहरुको मिहिनेतले काम गरेको हुन्छ । यसैले पनि फिल्मको पर्दा पछाडिका दुःख र सुख आफैंमा सम्झनलायकका हुन्छन् ।'
 
 
निर्देशक थापा र उनको टिमसँग काम गर्दाका रमाइला अनुभव जीवनको अन्तिम पलसम्म यादगार हुने केदार, जितु, विल्सन, रविन्द्र बताउँछन् । केदार र जितुले 'छक्का पञ्जा' पछि यो टिमलाई आफ्नो दोस्रो परिवार भनेका छन् । 
Most Visited News (monthly)