भाद्र ५ गतेबाट अभिनेत्री रेखा थापालाई ३७ वर्षले स्वागत गरेको छ । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी नायिका, निर्देशक, निर्माता, संगीतकार, निर्मात्री हुन् ।
छविराज ओझाको फिल्म 'हिरो' बाट अभिनय यात्राको सुरुवात गरेकी उनले यस वर्षको लक्ष्मीपूजामा प्रदर्शनमा आउन लागेको फिल्म 'मालिका' सम्म आइपुग्दा २ सय बढी फिल्ममा आफ्नो अभिनयको जादू छरिसकेकी छन् ।
आलोचना र प्रशंसाको अभिन्न मित्र बनेकी रेखा एक दशक अगाडिदेखि 'नम्बर वान' अभिनेत्रीको यात्रामा स्थिर छिन् । 'डायरी', 'रुद्रप्रिया', 'पलाँस' फिल्म बक्सअफिसमा डुब्दा भने उनको स्टारडमले ठाउँ छाड्न थालेको धेरैको तर्क छ ।
रेखा अभिनीत 'हिरो', 'मितिनी', 'धड्कन', 'हामी तीन भाई', 'कर्णवीर', 'दुर्गा', 'देवर बाबु', 'हिम्मत', 'किस्मत', 'हिफाजत', 'अन्दाज', 'रावण', 'कस्ले चोर्यो मेरो मन', 'हिम्मतवाली', 'रामप्यारी' जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन व्यवसायिक रुपमा पनि सफल ठहरिए ।
 (2)(1).jpg)
नेपाली फिल्ममा निरुता सिंह, विपना थापालगायतका अभिनेत्रीहरुको दबदबा रहँदा रेखा फिल्ममा आएकी थिइन् । यसपछि सुरु भएको उनको दबदबा अझै पनि कायमै छ । कुनै बेला रेखा छोटो पहिरन लगाएका कारण सर्वाधिक चर्चामा थिइन् ।
एक्सन अभिनेत्रीको छवि बनाएकी उनले पछिल्लो समय फिल्ममार्फत् महिला सशक्तिकरणको आवाज उठाउँदै आएकी छन् । 'रुद्रप्रिया' मा एसिड काण्ड, 'रामप्यारी' मा महिला बेचविखन र अब 'मालिका' मा उनले बाल विवाहको विषय उठाएकी छन् ।
पर्दामा अभिनेत्री थापाको प्रतिस्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग रेखाको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा को पराजित भयो ? ईतिहास बोल्नेछ ।
पर्दामा सफल रहेकी अभिनेत्री थापाको बैबाहिक जीवन भने सफल रहन सकेन । 'हिरो' फिल्म खेले लगत्तै निर्माता छविराज ओझासँग उनको लगनगाँठो कसिएको थियो । अन्ततः वैचारिक मतभेदका कारण करिब १२ वर्षपछि रेखा-छवि एक आपसमा छुट्टिए ।
करिअरको चरम बिन्दुमा आएर अभिनेत्री थापाले तत्कालिन एमाओवादीमा प्रवेश गरिन् । पछि आफू राप्रपाकी छोरी भन्दै माओवादी छाडिन् । उनी राप्रपामा पनि टिक्न सकिनन् । गएको वर्ष मात्र अभिनेत्री थापाले पशुपति शम्शेर राणा समुहको राप्रपा प्रजातान्त्रिक रोजेकी छन् ।
उनको राजनीतिक यात्राको पनि बेलाबखतमा खुबै आलोचना हुने गर्छ । जिन्दगीका पाइलाहरु जसरी अगाडि बढाएपनि नेपाली फिल्मकी नम्बर वान नायिका रेखा थापालाई फिल्मीखबरको तर्फबाट आगामी फिल्म र राजनीति करिअरको लागि सफलताको शुभकामनासँगै जन्मदिनको पनि शुभकामना !

