कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एकमुष्ट जानकारी दिन विदेशमा ‘ओपन हाउस इभेन्ट’ गर्ने प्रचलन छ । विदेशतिर प्रचलनमा रहेको यही इभेन्टलाई अनुसरण गर्दै शनिबार अस्कर कलेज अफ फिल्म स्टडिजले पनि ‘ओपन हाउस इभेन्ट’ गरेको छ ।
.jpg)
त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा समेत जानकारी गरायो ।
‘ओपन हाउस इभेन्ट’ मा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए । कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए ।
‘क्यामेरा आविष्कारका लागि प्रेरित गर्ने क्यामेरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी राखेका छौं । एउटा फिल्म बनाउन के-के चाहिन्छ भन्ने कुरा देखाएका छौं,’ पन्तले भने ।
.jpg)
इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने मौका पाएका थिए । कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राखिएको थियो । क्यामरा मात्र नभएर इभेन्टमा सहभागीले लाइभ एक्टिङको दृश्य पनि देख्न पाए ।
कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाएका थिए । ज्याजबारको सेट बनाएर अभिनय गरेका विनोद सिंह थापा र अनु थापाले बारमा नृत्य गरेको आभाषा दिलाएका थिए ।
इभेन्टमा विद्यार्थीले खिचेका २० वटा फोटो पनि प्रदर्शनीमा राखिएको थियो । यसरी राखिएका चित्र भने फिल्मसँग सम्बन्धित नभई जनजीवनसँग सम्बन्धित थिए । कलेजमा ओेपन हाउस इभेन्ट गर्ने कन्सेप्ट चाहीं कलेजकी प्रशासन प्रमुख आश्मा पोखरेलकोे हो ।
.jpg)
‘गत साल नै गर्न खोजेका थियौं । पर्याप्त समय भएन । यो साल सम्भव बनायौं । सय जनाजतिको लक्ष्य थियो, दुई सय पुगिसक्नु भयो । सोचेभन्दा सफल भएको छ,’ पोखरेलले भनिन् । कार्यक्रममा विद्यार्थीले विभिन्न समयमा बनाएका फिल्मको पनि स्क्रिनिङ गरिएको थियो ।

