हत्तपत्त अभिनेत्रीहरु पर्दामा आमाको भूमिका निर्वाहा गर्न डराउँछन् । आमा बनेर पर्दामा आउँदा हिरोइन बन्ने अवसर लगभग गुम्छ । यसकारण पनि पर्दामा हिरो वा हिरोइनको आमा बन्न डराउँछन् अभिनेत्रीहरु ।
तर, नव-अभिनेत्री कुसुम गुरुङले डेब्यु फिल्ममा नै आमाको भूमिका निर्वाहा गरेकी छन् । भाद्र १५ गतेबाट देशव्यापी प्रदर्शनका आउन लागेको फिल्म 'मेरी मामु' मा उनी ६ वर्षे आयुब सेनको आमाको भूमिकामा छिन् ।
फिल्ममा अनुबन्ध भएदेखि नै उनको सुन्दरताको खुब चर्चा भइरहेको छ । अभिनेत्री बन्न उनलाई सुन्दरतासँगै हाइट, फिगर, लुक्स सबै कुराले साथ दिएको छ । तर, किन डेब्यु फिल्ममा नै आमा ? उनी कलाकारलाई भएपछि जुनसुकै भूमिका निर्वाहा गर्न सक्नुपर्ने तर्क राख्छिन् ।
उनी भन्छिन्, 'म हिरोइन भन्दा पनि आर्टिस्ट हुँ भन्ने लक्ष्यले आएको छु । मलाई हिरोइन नै हुनु छ भन्ने छैन ।' 'मेरी मामु' मा मामु देखिनका लागि कस्टुम डिजाइन, भेषभुषादेखि मेकअपमा विशेष ध्यान दिएको कुसुम बताउँछिन् ।
सुन्दरताका कारण सबैको नजरमा परेकी उनको अभिनय कला कस्तो छ ? अब यसले नै उनको करिअरको नयाँ बाटोको कोर्नेछ । डेब्यु फिल्ममै आमाको भूमिका निभाउँदा उनलाई हिरोइन बन्नका लागि कति गाह्रो वा सहज होला ? यो भने हेर्न बाँकी छ ।
को हुन् कुसुम ?
थिएटर ब्याक ग्राउण्डकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छन् ।
अभिनयलाई आफ्नो प्यासन मान्ने कुसुम नेपाली फिल्म क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवारसँग लण्डनमा बस्दै आएकी उनले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।

