अहिलेकी 'मस्ट डिमान्डेड' अभिनेत्री हुन् प्रियंका कार्की । उनलाई अहिले नेपाली फिल्ममा ‘सिक्वेल फिल्म क्विन’ भन्न थालिएको छ । फिल्म 'नाईं नभन्नू ल' र 'छक्का पञ्जा' का सिरिज सुपरहिट भएपछि उनलाई यो नामले पुर्कान थालिएको हो ।
मिलनसार र नम्र स्वभावकी उनले फिल्म क्षेत्रमा दुश्मन कम, मित्र धेरै कमाएकी छन् । प्रायः दैनिकजसो नयाँ फिल्ममा अनुबन्ध भएको खबरका कारण चर्चामा रहने उनी पुनः एकपटक मह जोडीले निर्माण गर्न लागेको नयाँ फिल्म 'दाल भात तरकारी' मा जोडिएकी छन् ।
यसअघि उनले 'शत्रु गते' मा लिड रोल निभाएकी थिइन् । पुनः मह जोडी र किरण केसीको टिमको सदस्य भएर काम गर्न लागेकी उनी यो फिल्ममा अन्तिम समयमा जोडिएकी हुन् । यतिसम्म कि बुधवार फिल्मको घोषणा हुँदा उनको नाम ब्यानरमा समेत थिएन ।

खासमा उक्त फिल्ममा हरिवंश आचार्यको जोडीको रुपमा देखिने कुरा भएपनि त्यसमा प्रियंका फिट नहुने भएपछि स्क्रिप्टमा परिवर्तन ल्याइएको छ । अब अभिनेत्री निरुता सिंह, हरिवंशको अपोजिटमा देखिँदै छिन् । फिल्ममा प्रियंकालाई अटाउन नयाँ क्यारेक्टरलाई जन्म दिइएको छ ।
जोडी किन नसुहाउने भयो ? 'दाल भात तरकारी' को घोषणा सभामा हरिवंशलाई पत्रकारले प्रश्न गरे । उनले ठट्यौली शैलीमा प्रियंकाको जोडी भएर काम गर्दा आफूले धेरै 'वाइटनर' लगाउनु पर्ने बताए । 'मैले अलिकति डिम्पल पनि बनाउनु पर्छ । ठूलो कुरा चाहिँ प्रियंका यो उमेरको होइन उसलाई बनाइएको हो भन्ने लाग्छ', उनले भने ।
हरिवंशले प्रियंकालाई हिरासँग तुलना गर्न पनि छाडेनन् । उनले भने, 'फिल्ममा उनी हुनु भनेको औँठीमा एउटा हिरा जोडिएजस्तै हो । हामीले उहाँलाई हिरा बनाएर बीचमा जोडेका छौं ।' उनले फिल्ममा सुहाउने भएर अभिनेत्री निरुता सिंहलाई अनुबन्ध गरेको बताए ।
लामो समयदेखि भारतको मुम्बईमा बस्दै आइरहेकी निरुता 'वान लाइन स्टोरी' सुनेपछि फिल्ममा काम गर्न तयार भएको हरिवंश बताउँछन् । 'हामीलाई उहाँजस्तै फिगर, अनुहार र अभिनय गर्ने अभिनेत्री चाहिएको थियो' उनी थप्छन्, 'निरुता र मेरो उमेरमा पनि धेरै ग्याप छ तर म आफूलाई योङ्ग बनाउने प्रयास गर्नेछु ।'

