Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ : किन बाहिरिए खगेन्द्र ? कसरी भित्रिए विपिन ?

मनिष अन्जान, काठमाण्डौ, 2018/08/15
कुनै फिल्ममा कलाकार भित्रिनु र बाहिरिनु नौलो कुरा होइन । प्रायः यस्ता खबरहरुले मिडियामा विशेष स्थान पाइरहेका हुन्छन् । छायांकनको तरखरमा रहेको फिल्म ‘गोपी’ मा भने निकै रोचक खेल भएको छ । 
 
अभिनेत्रीले फिल्म छाडेको २४ घण्टा नवित्दै अभिनेताले पनि हात झिके । वर्षा सिवाकोटी 'आउट' र अभिनेत्री वर्षा राउत 'इन' भएको खबर मिडियामा आएको २४ घण्टामै टाइटल क्यारेक्टरमा रहेका अभिनेता खगेन्द्र लामिछानेले पनि फिल्म ‘गोपी’ छाडे । 
 
 
वर्षाले 'साइन गर्दा एउटा चरित्र र पछि अर्कै' भएपछि फिल्म छाडेको आफ्नो आधिकारिक फेसबुकमार्फत् बताएकी थिइन् । तर, निर्माण टिम यो स्विकार गर्न तयार छैन । स्क्रिप्ट राईटर सामिप्यराज तिमल्सिनाले पूरा स्क्रिप्ट नै नसुनि उनी फिल्मबाट बाहिरिएको बताउँछन् । 
 
तर, अभिनेता खगेन्द्रले चाहिँ के कारणले हात झिके ? निर्माण टिमलाई समेत अत्तोपत्तो छैन । खगेन्द्र बाहिरिनुको कारण निर्देशक दीपेन्द्र लामा रचनात्मक मतभेद बताउँछन् । घोषणादेखि स्क्रिप्टको कामसम्म उनी सँगै थिए तर फ्लोरमा जान केही दिन मात्र बाँकी रहँदा फिल्मबाट अकास्मात हात झिके । 
 
आखिर के थियो यसको पछाडिको वास्तविकता ? यो त उनैलाई थाहा होला । खगेन्द्र लामिछानेलाई बौद्धिक अभिनेता भनिन्छ । उनी जुनसुकै फिल्म गर्न राजी हुँदैनन् । सकेसम्म उनी आफ्नै कथा भएको फिल्ममा मात्र काम गर्ने गर्दछन् । पहिलो पटक उनले ‘गोपी’ मा अन्य राईटरले लेखेको कथामा काम गर्दैथिए । 
 
फिल्मबाट अन्तिम समयमा बाहिरिनुको पछाडि उनको आफ्नै स्क्रिप्ट नभएको अनुमान गरिएको छ । उनले पटक-पटक वर्कसपमा समेत स्क्रिप्टलाई लिएर गुनासो पोखेको खबर प्राप्त छ । मंगलवार पत्रकार सम्मेलन नै गरेर ‘गोपी’ टिमले खगेन्द्रको ठाउँमा अभिनेता विपिन कार्कीलाई अनुबन्ध गरिएको जानकारी गरायो । 
 
अब यो फिल्ममा उनले अभिनेत्री द्वय वर्षा राउत र सुरक्षा पन्तसँग रोमान्स गर्दैछन् । यो फिल्म विपिनले अफर आएको २४ घण्टामा साइन गरेका हुन् । उनी आजसम्म कुनै फिल्म यसरी साइन नगरेको बताउँछन् । हालै 'प्रसाद' को छायांकन भ्याएका उनले ‘गोपी’ मा खगेन्द्र बाहिरिएको एक दिनमा फिल्म गर्न तयार भएका हुन् । 
 
 
आखिर किन हतारमा निर्णय ? मंगलवार पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, 'एउटा कलाकारलाई राम्रो फिल्मको सधैं लोभ हुन्छ । मलाई पनि छ । मैले रातभरीमा स्क्रिप्ट पढिसकेँ । आफ्नो क्यारेक्टर र कथा मनपर्‍यो । अनि लाग्यो कि राम्रो फिल्म उम्काउनु हुन्न ।' उनकै आग्रहमा भाद्र १ गतेबाट फ्लोरमा जाने फिल्मको डेट एक हप्ता पोस्टपोन्ड गरिएको छ ।  
 
श्रीधर पौडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । 
 
‘गोपी’ मा वर्षाको रोजाई हुन् विपिन 
 
वर्षा सिवाकोटी बाहिरिएको २४ घण्टा वित्दै गर्दा खगेन्द्र लामिछानेले पनि फिल्म नगर्ने निर्णय सुनाएपछि निर्माण टिम छाँगाबाट खसेझैं भयो । उनलाई मनाउन निर्माण टिमले सक्ने सबै प्रयास गर्‍यो । अन्ततः सोमवार दिउँसो उनी फिल्मबाट विदा भए । 
 
 
उनको ठाउँमा अब को ? निर्देशक, निर्माता र स्क्रिप्ट राईटरको भोकनिन्द्रा हरायो । वर्षा सिवाकोटीको ठाउँमा वर्षा राउत भित्रिँदासम्म खगेन्द्र फिल्ममा थिए । तर सिवाकोटीलाई राउतले रिप्लेस गरेको खबर मिडियामा आए लगत्तै खगेन्द्रले पनि फिल्म नगर्ने निर्णय लिएका थिए । अब वर्षालाई के भन्ने ? निर्माण पक्षलाई अर्को फसाद आइलाग्यो । 
 
जसोतसो खगेन्द्र फिल्मबाट बाहिरिएको जानकारी निर्मातासहितको टिमले वर्षालाई गरायो । उनीले आफूलाई स्क्रिप्ट मनपरेका कारण जो अभिनेता राख्दा पनि आफू काम गर्न तयार रहेको बताइन् । कुरैकुरामा उनले खगेन्द्रको ठाउँमा अभिनेता विपिन कार्कीको नाम सुझाइन् । 
 
 
अभिनेत्री वर्षाले फिल्म 'जात्रा' मा उनीसँग काम गरिसकेकी थिइन् अब यसको सिक्वेलमा फेरि यो जोडीले काम गर्दैछन् । उनले विपिनसँग काम गर्न आफूलाई सजिलो हुने आशय व्यक्त गरेपछि निर्माण टिमबीच ठूलै छलफल भयो । खगेन्द्रको ठाउँमा विपिनबाहेक अरु अप्सन नदेखेपछि एकपटक कुरा गर्ने निर्णयमा निर्माता र निर्देशक पुगे । 
 
अब उनलाई रिझाउने काम वर्षाको हातमा पुग्यो । विपिन र वर्षाबीच फोन वार्ता भयो । विपिन ‘गोपी’ को स्क्रिप्ट पढ्न तयार भए । निर्माता, निर्देशक र स्क्रिप्ट राईटरले स्क्रिप्ट बोकेर उनीसँग भेट गरे । कलाकार परिवर्तन भएको र फ्लोरमा जान ढिलाई हुन लागेको निर्देशक दीपेन्द्र लामाले यर्थाथ सुनाएपछि उनलाई चाँडै निर्णय दिन अनुरोध गरे । 
 
विपिनलाई स्क्रिप्ट बुझाएको केही घण्टापछि निर्माण टिमलाई वर्षा राउतको फोन आयो । उनले, विपिन फिल्म गर्न राजी भएको खुसी सुनाइन् । अर्थात्, विपिनले स्क्रिप्ट पढेपछि वर्षालाई फोन गरेर आफू फिल्म गर्न तयार रहेको बताएका रहेछन् । 
 
 
मंगलवार बिहान निर्माण टिम र विपिनबीच औपचारिक सम्झौता भयो र दिउँसो आकस्मिक पत्रकार सम्मेलन गरेर ‘गोपी’ टिमले खगेन्द्रको ठाउँमा विपिन कार्कीलाई अनुबन्ध गरेको जानकारी गरायो । फ्लोरमा जानु अगावै कलाकार परिवर्तनका कारण कन्ट्रोभर्सीमा फसेको यो फिल्ममा अभिनेत्री सुरक्षा पन्त भने सुरुवातदेखि नै यथावत छिन् । 
Most Visited News (monthly)