Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मलाई पाखा, विदेशी फिल्मलाई काखा किन ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/15
मल्टिप्लेक्सले नेपाली फिल्मलाई पाखा गरेर बलिउड र हलिउड फिल्मलाई काखा गर्ने प्रवृति अझै हट्न सकेको छैन । उता विदेशी फिल्म जुन बार आएपनि प्रदर्शन हुने तर नेपाली फिल्म शुक्रवार नै रिलिज हुनु पर्ने नियम पनि गज्जब छ । 
 
ताजा उदाहरण बुधवारबाट नेपाल प्रदर्शन भएका दुई बलिउड फिल्म ‘सत्यमेव जायते’ र ‘गोल्ड’ हुन् । शुक्रवार प्रदर्शन हुनुपर्ने नियम नेपाली फिल्मका लागि मात्र लागू हुने भन्दै यी दुई फिल्म बुधवारबाटै प्रदर्शनमा आएका छन् । 
 
२०७२ असोज १९ गते निर्माता संघले फिल्म प्रदर्शन शुक्रबार मात्र सार्वजनिक गर्ने आह्वानसहित सूचना सार्वजनिक गरेको थियो । निर्माता संघ र हलहरुको संघ नेपाल चलचित्र संघ बीचको सहमतिमा हरेक हप्ता 'फ्राइडे रिलिज’ को नियम लागू भएको सूचनामा छ । 
 
यो नियम नेपाली फिल्मको हकमा मात्र लागू हुँदै आएको छ । विदेशी फिल्म भने 'दाम्लो चुड्याएको लैनो बाच्छो झैँ' भएका छन् । विदेशी फिल्म जुन दिन पनि आउँदा यसको प्रत्यक्ष असर नेपाली फिल्मको व्यापारमाथि पर्ने गरेको छ । 
 
 
हलिउड र बलिउडका फिल्म रिलिज हुँदा मल्टिप्लेक्समा सधैं नेपाली फिल्मको भागाभाग हुन्छ । बुधवार रिलिज भएका दुई फिल्मकै कुरा गर्ने हो भने नेपाली मल्टिप्लेक्सको सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले ‘सत्यमेव जायते’ र ‘गोल्ड’ लाई उच्च शोज बाँडेको छ । शुक्रवार रिलिज हुने नेपाली फिल्म २/३ शोजमै सीमित छन् । 
 
बुधवार जोन अब्राहम स्टारर फिल्म ‘सत्यमेव जायते’ ले १५ शोज पाएको छ भने अक्षय कुमारको ‘गोल्ड’ ले १६ शोज प्राप्त गरेको छ । बिहीवार रिलिज हुने हलिउड फिल्म 'ग्लोरी' भने एक शोमा सीमित भएको छ । 
 
शुक्रवारबाट 'मिस्टर भर्जिन', 'ब्ल्याक', 'जय शम्भु' र 'बाह्र मासे' सहित चार नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । 'बाह्र मासे' बाहेक अन्य तीन फिल्मले मल्टिप्लेक्समा आफ्नो उपस्थिति जनाउँदैछन् । तर, शोजको संख्या उदेकलाग्दो छ । 
 
'मिस्टर भर्जिन' ले पहिलो दिन क्यूएफएक्समा २ शोज र 'जय शम्भु' ले १ शोज पाउँदा 'ब्ल्याक' का लागि अझैसम्म शोज नै बाँडिएको छैन । मल्टिप्लेक्सले गर्ने मनोमानी यसबाट नै छर्लङ्ग हुन्छ । यसतर्फ नेपाली फिल्मको विकासका लागि दिनरात दौडिएको नारा लगाउने संघ-संस्थाको समेत ध्यान जान सकेको छैन । 
 
राम्रो शेयर हात पार्ने मल्टिप्लेक्सबाटै नेपाली निर्माताले अपहेलना सहनु परेको छ । विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृतिको विरोध पटक-पटक भएपनि समस्या ज्यूँकात्यूँ छ । 
 
रोचक कुरा त, जहाँ १/२ शोमै चित्त बुझाउनु पर्छ त्यहीँ नेपाली फिल्मका निर्माताले लाखौं तिरेर फिल्मको ब्यानर झुन्ड्याइरहेका हुन्छन् । जहाँ शोज पाउनकै लागि राईकराई गर्नुपर्छ त्यहीँ लाखौं तिरेर ट्रेलर बजाउन र ठूला-ठूला ब्यानर झुन्ड्याउन किन मरिहत्ते गरिन्छ ? यो आफैंमा अनुत्तरित प्रश्न हो । 
Most Visited News (monthly)