Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मह जोडीको ‘दाल भात तरकारी’ घोषणा, हरिवंशको जोडी निरुता

फिल्मीखबर, काठमाण्डौ, 2018/08/15
गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'शत्रु गते' टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ को घोषणा गरेको छ । मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । 
 
 
फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्ममा सह-निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, नेपाली फिल्म निर्देशनको भने पहिलो पटक अनुभव बटुल्न लागेका हुन् । 
 
मल्टिस्टारर ‘दाल भात तरकारी’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट फिल्मको छायांकन सुरु हुँदैछ । 
 
 
वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् ।
 
फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने बताइएको छ । 
 
 
निर्माता केसीले 'शत्रु गते' मा भएका कमी कमजोरी ‘दाल भात तरकारी’ मा नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनी भन्छन्, 'शत्रु गते' को सफलतापछि हामीलाई थप जिम्मेवारी थपिएको छ । दर्शकलाई एउटा स्वादिलो खाना पस्कन हामी कुनै कम्प्रमाइज गर्ने छैनौं ।' 
 
कलाकार हरिवंश आचार्यले किरण केसीको छोरा भएका कारण निर्देशनको जिम्मेवारी नदिएको बताए । 'सुदन प्रतिभावान छ । उसले राम्रो काम गर्न सक्छ भन्ने लागेर निर्देशनको जिम्मेवारी दिएका हौं ', उनले भने । उनले, दाल भात तरकारी जस्तै हरेक नेपालीलाई मन पर्ने फिल्म बनाउने विश्वास दिलाए । 
 
 
मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् । 
Most Visited News (monthly)