अभिनेत्री वर्षा सिवाकोटी 'आउट' र अभिनेत्री वर्षा राउत 'इन' भएको दुई दिन नवित्दै फिल्म ‘गोपी’ बाट अभिनेता खगेन्द्र लामिछाने पनि बाहिरिएका छन् । मंगलवार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले खगेन्द्रको ठाउँमा अभिनेता विपिन कार्की भित्रिएको औपचारिक जानकारी गराएको छ ।
भाद्र पहिलो साताबाट फ्लोरमा जान लागेको यो फिल्म विपिनले रातारात स्क्रिप्ट पढेर साइन गरेका हुन् । निर्देशक दीपेन्द्र लामाले आपसी समझदारीबाटै खगेन्द्रले फिल्म छाडेको बताए । ‘गोपी’ को स्क्रिप्टमा सबैभन्दा ठूलो योगदान उहाँको पनि छ । केही कारणले गर्दा खगेन्द्र जीले फिल्म गर्न सक्नुभएन’, उनले भने ।
'पशुपति प्रसाद' जोडी आउट हुनु र 'जात्रा' जोडी फिल्ममा भित्रिनु आफैंमा रोचक छ । निर्देशक लामाका अनुसार, खगेन्द्र र वर्षाको ठाउँमा विपिन र वर्षा राउत फिट हुने भएकाले अनुबन्ध गरिएको हो । पत्रकार सम्मेलनमा विपिनले आफूलाई स्क्रिप्ट चित्त बुझेका कारण ‘गोपी’ गर्न तयार भएको बताए ।
उनले भने, 'म सधैं फिल्म गर्नु अगाडि १/२ महिना समय दिन्छु । स्क्रिप्ट राम्रोसँग अध्ययन गर्छु । क्यारेक्टरमा फिट हुन्छु भन्ने लागेपछि मात्र मैले फिल्म गर्ने हो । ‘गोपी’ को हकमा चाहिँ मैले २४ घण्टामा नै स्क्रिप्ट पढेर साइन गरेको हुँ । स्क्रिप्ट मन परेपछि फिल्म छाड्नु हुन्न भन्ने लाग्यो अनि काम गर्न राजी भएँ ।'
भाद्र १ गतेबाट फ्लोरमा जाने तयारी भएपनि विपिनले एक हप्ता वर्कसपका लागि समय मागेका छन् । उनले ‘गोपी’ मा खगेन्द्र खेल्ने कुरामा आफू अनविज्ञ रहेको पनि बताए । उनले भने, 'बरु मलाई सौगात मल्लले चाहिँ खेल्दै हुनुहुन्छ भन्ने थाहा थियो । उहाँले भन्नुभएको थियो तर खगेन्द्र दाईले गर्दै हुनुहुन्छ भन्ने चाहिँ थाहा थिएन ।'
अभिनेत्री वर्षा राउतले आफूलाई स्क्रिप्ट औधि मन परेका कारण फिल्म गर्न राजी भएको बताइन् । उनले भनिन्, 'मैले पूरा स्क्रिप्ट पढेँ निकै मनपर्यो । मलाई स्क्रिप्टसँगै टिम पनि राम्रो लाग्यो । राम्रो फिल्ममा काम गर्ने अवसर मैले गुमाउन चाहिनँ ।' यसअघि 'मेरो पैसा खोई ?' मा उनी भित्रिएपछि वर्षा सिवाकोटीले फिल्मबाट हात झिकेकी थिइन् ।
अभिनेत्री सिवाकोटीले फिल्मबाट बाहिरिएपछि फेसबुकमा स्टाटस लेख्दै 'साइन गर्दा एउटा चरित्र र पछि अर्कै' भएपछि बाहिरिएको बताएकी थिइन् । यो कुराको स्क्रिप्ट राईटर सामिप्यराज तिमल्सिनाले खण्डन गरे । 'हामीले उनलाई सुनाएको भन्दा २/४ सिन झन् राम्रो भएर आएको छ । तर उनले फिल्मको पूरा स्क्रिप्ट नै पढिनन् र रोल चेन्ज भएछ भन्दै उनी 'जय शम्भु' को प्रचारलाई हिँडिन्', उनले भने ।
राईटर तिमल्सिनाले सिवाकोटीको क्यारेक्टर पहिला सुनाएको भन्दा स्क्रिप्टमा थप उत्कृष्ट बनेर आएको बताए । यो कुरामा अभिनेत्री राउतले पनि सहमती जनाइन् । यस्तै, अभिनेत्री सुरक्षा पन्तले वर्षाको व्यबहार सही नभएको तर्क गरिन् ।
उनी भन्छिन्, 'जब कलाकार वर्कसपमा बसेर स्क्रिप्टमा परिवर्तन ल्याउने कोशिश नै गर्दैन तब कम्प्लेन गर्नुको अर्थ हुन्छ जस्तो मलाई लाग्दैन । कथा मनपर्यो भने हामी जस्तो पनि फिल्म गर्छौं । वर्षा जीलाई चित्त नबुझेको थियो भने लजिकली जस्टिफाइ गरेको भए हेल्दी रिलेसनसिप पनि हुन्थ्यो भन्ने मलाई लाग्छ ।'
कार्यकारी निर्माता श्रीधर पौडेलले आफूले स्क्रिप्ट र निर्देशकमाथि विश्वास गरेर लगानी गर्न तयार भएको बताए । 'कलाकार परिवर्तन हुनु ठूलो कुरा होइन र मैले यो कलाकार भए मात्र लगानी गर्छु भनेको छैन' उनले भने, 'स्क्रिप्ट र निर्देशकमाथि मलाई पूरा विश्वास छ ।'
आरोही केसी निर्माता रहेको ‘गोपी’ फिल्मका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् ।
चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

