Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मेरी मामु’ को प्रचारमा ३८ लाख खर्चिदै सन्तोष

फिल्मीखबर, काठमाण्डौ, 2018/08/13
'चंखे शंखे पंखे' बाट फिल्म निर्माणमा हात हालेका निर्माता हुन् सन्तोष सेन । डेब्यु फिल्म बक्सअफिसमा पत्तासाफ भएपनि उनलाई फिल्म निर्माण गर्ने भूतले छाडेन । पुनः सुदर्शन थापालाई निर्देशकको रुपमा लिएर उनले 'प्रेमगीत' बनाए । 
 
दोस्रो फिल्म पनि बक्सअफिसमा चलेन । तर दर्शकको नजरमा फिल्म उत्कृष्ट ठहरियो । यसपछि उनले लभस्टोरी कथामै 'प्रेमगीत' को दोस्रो सिरिज बनाए । लिड अभिनेतामा प्रदीप खड्का थिए । यो फिल्म बक्सअफिसमा चम्कियो । 
 
उनी दिलखोलेर खर्च गर्ने निर्माता हुन् । निर्माणमा होस् वा प्रचारमा, उनले पैसाको खोलो बगाउँछन् । अब उनले निर्माण गरेको चौँथो फिल्म 'मेरी मामु' भाद्र १५ गते सोलो रिलिजमा आउँदैछ । यसमा उनले आफ्नै ६ वर्षे छोरा आयूब सेनलाई डेब्यु गराएका छन् । 
 
सन्तोषले निर्माण गरेका तीन फिल्म लभस्टोरी बेसका थिए । तर 'मेरी मामु' मा उनले फरक कथा टिपेका छन् । आमा र छोरा बीचको दूरी र आत्मीयताको कथा फिल्मले बोल्छ । यो फिल्मको एक गीत समेत सार्वजनिक भइसकेको छ । गीतबाट आयुबको चर्चा चुलिएको छ । 
 
 
(बाल कलाकार आयुब सेन)
 
केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेका निर्माता सेनले दुई चरणमा फिल्मको प्रचार गर्ने बताए । पहिलो चरणको प्रचार सकिसकेको छ । देशका प्रमुख स्टेशनमा पत्रकार सम्मेलनदेखि स्कूल-स्कूलमा गएर फिल्मको विषयमा जानकारी गराइएको थियो । दोस्रो चरणको प्रचार 'प्रेमगीत २' शैलीको गर्ने सेनको तयारी छ । 
 
उनका अनुसार, देशभर फिल्मको प्रचार-प्रसारलाई आक्रामक बनाउन सांगीतिक कन्सर्ट गरिँदैछ । प्रायः निर्माताहरु फिल्मको प्रचार गर्ने बेला कुना पस्ने गर्छन् । लाखौं खर्च हुने हुँदा हत्तपत्त निर्माताले प्रचारका लागि खल्ती रित्तो बनाउन चाहँदैनन् । 
 
आखिर निर्माता सेनले प्रचारमा कति खर्च गर्दैछन् ? फिल्मीखबरसँग फोन वार्तामा उनले भने, '२५ लाख छुट्याएको थिएँ अब यतिले नपुग्ने देखिएको छ । थप १३ लाख अरु छुट्याएको छु ।' ९६ लाखमा बनेको फिल्मको प्रचारमा मात्र ३८ लाख खर्च गर्नु सानो कुरा होइन ।
 
निर्माता सन्तोष सेनले फिल्म राम्रो बनेका कारण प्रचारमा पैसा खर्च गर्न नडराएको बताए । उनले भने, 'फिल्ममा पनि हामीले लगानी गर्नुपर्ने ठाउँमा काहिँ कञ्जुस गरेका छैनौं । म खुसी छु खर्च भएअनुसार फिल्म बनेको छ । आयुबले राम्रो काम गरेको छ । फिल्मले लगानी सजिलै उठाउँछ ।' 
 
प्रचारलाई आक्रामक बनाउने क्रममा 'मेरी मामु' टिमले 'आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ' शिर्षकमा एउटा प्रतियोगिता अगाडि सारेको छ । आफ्नो आमाको बारे २५० शब्दमा नबढाई बाक्यांश लेखेर पठाउने उत्कृष्ट ५ जनालाई थाइल्याण्ड घुमाउने प्रतियोगिताको घोषणा गरिएको छ । 
 
यम थापा निर्देशित यो फिल्ममा ६ वर्षे आयुबसँगै कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । काठमाण्डौंदेखि देवघाटसम्मको टुरमा आमा-छोराको सामिप्य र उत्तरचढावलाई यस फिल्ममा प्रस्तुत गरिएको छ । 
Most Visited News (monthly)