Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रोजी’ मा प्रदीपको जोडी नसुहाएकै हो ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/13
अभिनेता प्रदीप खड्काको जोडी जो कोही अभिनेत्रीसँग बाँध्न सजिलो छैन् । होचा कदका उनीसँग केमेस्ट्री मिलाउन उनकै हाइट बाराबरको अभिनेत्री खोज्नु पर्ने हुन्छ । चकलेटी अनुहारका उनले 'प्रेमगीत' मा पूजा शर्मा, 'प्रेमगीत २' मा अश्लेषा ठकुरी, 'लिलिबिली' मा जसिता गुरुङ र प्रियंका कार्कीसँग जोडी बाँधेका थिए । 
 
अभिनेत्री जसिताबाहेक अन्य अभिनेत्रीसँग प्रदीपको केमेस्टी सुहाएको चर्चा सुनिएन । 'लिलिबिली' मा प्रियंकासँग उनको केमेस्ट्रीलाई धेरैले दिदी-भाई नै भनिदिए । कारण, प्रियंकाको अगाडि प्रदीप पुट्के देखिन्थे । अब भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोजी’ मा उनले दुई हिरोइनसँग रोमान्स गरेका छन् । 
 
अभिनेत्री मिरुना मगर र परमिता आरएल राणा उनको अपोजिटमा छन् । हालै यस फिल्मको गीत रिलिज भयो, जसमा प्रदीप र मिरुना फिचर्ड छन् । गीतको भिडियोमा यी दुईको केमेस्ट्रीको धेरैले तारिफ गरेका छन् । दुवैको हाइट लगभग उस्तै छ । 
 
 
तर यस फिल्मकी अर्की लिड एक्ट्रेस परमिताको कद अग्लो छ । प्रदीप उनको अगाडि भाई देखिन्छन् । फिल्ममा उनी अनुबन्ध भएपछि धेरैले प्रदीप र परमिताको जोडी नसुहाउने तर्क राखेका थिए । फिल्मको मुल कथा नै यी दुईकै वरिपरि घुम्ने हुँदा यो कपलको केमेस्ट्री कस्तो होला ? धेरैलाई चासो छ । 
 
आइतवार साँझ नक्सालमा रहेको बज क्याफेमा भेटिएका अभिनेता प्रदीप र अभिनेत्री द्वय मिरुना र परमितालाई पत्रकारले 'हिरो होचो हिरोइन अग्ली किन ?' भन्दै प्रश्न गरे । हरेक कुरालाई उदाहरण दिएर भन्न माहिर प्रदीपले आफूले हाइट बढाउन धेरै दुःख गरेपनि नबढेको सुनाए । 
 
उनले हाइटका कारण हिरोइनसँग केमेस्ट्री नमिल्नुको दोष आफैं लिने चाहने बताए । 'मैले हाइट बढाउन के मात्र गरिनँ । एसएलसी गरेपछि २/३ महिना मेशिन लगाउनेदेखि क्याप्सुलसम्म खाएँ । तर सकिएन',  उनले भने । उनको छेवैमा रहेकी अभिनेत्री मिरुनाले हाइटले भन्दा मनले मान्छे उच्च हुनुपर्ने विचार राखिन् । 
 
भाईसँग रोमान्स गरेको कमेन्ट पाउनुभएको छ ? उनीमाथि पत्रकारले प्रश्न गरे । उनले भनिन्, 'हिरोभन्दा हिरोइन होचो हुनुपर्छ भनेर रुल्स काहिँ लेखिएको छ जस्तो मलाई लाग्दैन । हामीले हाम्रो क्यारेक्टर हेरेका हौं र केमेस्ट्री देखियोस् भनेर काम गरेका छौं ।'
 
अभिनेत्री परमिताले भने बलिउड अभिनेता आमिर खान र कैटरीना कैफको उदाहरण दिइन् । 'एक्टिङ फिल्डमा हाइटले फरक पार्छ जस्तो मलाई लाग्दैन । मोडलिङ भए पर्थ्यो होला । आमिर खानको पनि हाइट सानो छ तर उहाँले कैटरीना कैफसँग काम गरिरहनु भएको छ । हाइटले केही फरक पर्छ जस्तो लाग्दैन',। उनले भनिन् । 
 
'रामकहानी' सँग भिड्ने 'मास्टर प्लान' कसको ? 
 
फिल्म ‘रोजी’ भाद्र २२ गते यस वर्षको प्रतिक्षीत फिल्म 'रामकहानी' सँग भिड्दैछ । ६ महिना अगाडि नै 'रामकहानी' उक्त मितिमा आउने कन्फर्म भएको थियो तर अन्तिम समयमा ‘रोजी’ पनि आएपछि धेरैलाई यसले अचम्मित बनाएको छ । 
 
२०६६ सालमा ‘रोजी’ निर्देशक निरक पौडेलको 'कुसुमे रुमाल २' सँग 'रामकहानी' का निर्देशक सुदर्शन थापाको फिल्म 'मेरो एउटा साथी छ' भिडेपछि त्यसको प्रतिसोध साँध्न भाद्र २२ को भिडन्त रचिएको चर्चा एकातिर हुँदै गर्दा अर्कोतिर यो 'मास्टर प्लान' चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल र अभिनेता प्रदीप खड्काले बनाएको खबर छ । 
 
 
केही दिन अगाडि अभिनेत्री तथा निर्माता पूजा शर्माले 'रामकहानी' सँग ‘रोजी’ भिड्नुको पछाडि बोर्ड अध्यक्ष निकिताको हात रहेको भन्दै आक्रोस पोखेकी थिइन् । आखिर कसको हो 'मास्टर प्लान' ? आइतवार यस विषयमा निर्देशक निरक र अभिनेता प्रदीपले मुख खोलेका छन् । 
 
निर्देशक पौडेलले इगो बोकेर फिल्म जुधाउन लागेको कुराको खण्डन गरे । उनले भने, 'म इगो बोक्ने मान्छे हुँ जस्तो त लाग्दैन । यो संयोग मात्र हो । वितरक र निर्माताको सल्लाह अनुसार भाद्र २२ को डेट तोकिएको हो ।' 
 
उनी हरेक हप्ता ३/४ वटा फिल्म रिलिज हुने हुँदा यो ठूलो इस्यू नरहेको बताउँछन् ।  निरकले सुदर्शन थापा आफ्नो घनिष्ट मित्र रहेको समेत बताए । अभिनेता प्रदीपले 'रामकहानी' सँग ‘रोजी’ जुधाउनुको पछाडि आफ्नो कुनै हात नभएको प्रष्ट पारे । 
 
'निर्माता, निर्देशक र वितरक हुँदाहुँदै यो मितिमा फिल्म रिलिज गर्नैपर्छ भन्ने निर्णय मैले लिएर हुन्छ जस्तो लाग्दैन' उनले भने, 'म अष्ट्रेलिया थिएँ जब निर्देशक निरक दाईले मलाई फिल्मको रिलिज डेटको बारेमा च्याटमा बताउनुभएको थियो ।' 
 
उनले फेस्टिवलको बेला दुई फिल्म रिलिज हुनु ठूलो कुरा नभएको बताए । 'हलमा जाँदा दर्शकलाई दुईटा च्वाइस हुन्छ । जुन फिल्म हेर्न मन लाग्छ त्यो हेर्नुहुन्छ । म  दर्शकलाई 'रामकहानी' र 'रोजी' दुवै हेर्नुस् भन्छु', प्रदीपले भने । 
 
‘रोजी’ नाम परिवर्तन हुन्छ ? 
 
आफ्नै प्रेमीको योजनामा रोजी महर्जनको हत्या भएको वास्तविक कथामा फिल्म ‘रोजी’ बनेको चर्चा छ । यो कुराले केही महिना अगाडि ठूलै बबण्डर मच्चाएको थियो । रोजीका परिवारले फिल्म नै बनाउन नदिने समेत धम्की दिएका थिए । 
 
फिल्मको छायांकन तत्काल नरोके प्रहरीमा उजुरी दिने रोजीका परिवारको दवावपछि दुई महिना अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलको ठाडो आदेशमा फिल्मको छायांकन समेत रोकिएको थियो । फिल्मको टिम र रोजीका परिवारले पटक-पटक वार्ता पनि गरिसकेका छन् । 
 
 
‘रोजी’ का स्क्रिप्ट राईटरले फिल्मको कथा समेत रोजीका परिवारलाई सुनाए । तर अझै यो समस्या ज्यूँकात्यूँ छ । रोजीका परिवार पूरा फिल्म हेर्ने र नाम जसरी पनि परिवर्तन गर्नैपर्ने अडान राखेर बसेका छन् । के फिल्मको नाम परिवर्तन होला ? 
 
निरक भन्छन्, 'हामीले रोजीका परिवारसँग पटक पटक छलफल गरिसकेका छौं । अर्को हप्ता पनि कुरा हुँदैछ । आशा छ कुरा मिल्नेछ ।' पुनः उनले रोजी महर्जनको हत्या प्रकरणमा फिल्म आधारित नभएको बताए । 
 
रोजी महर्जनको हत्या र फिल्म ‘रोजी’ को कथामा खासै अन्तर छैन । फिल्ममा आफ्नै प्रेमीले प्रेमिकामाथि गोली चलाएका छन्, जुन रोजीको हत्या प्रकरणसँग मिल्छ । नाम र मुल कथा नै मिल्ने भएपछि फिल्मलाई लिएर ठूलै विवाद उत्पन्न भएको छ । 
 
रोजी महर्जनका परिवारको अन्तिम इच्छा अब पूरा फिल्म हेर्ने छ । ‘रोजी’ का निर्देशक निरकले कुरा नमिले फिल्म देखाउन आफू तयार रहेको बताएका छन् । उनी भन्छन्, 'रोजी महर्जनको हत्या प्रकरणसँग फिल्मको कथा कहिँ पनि मिल्दैन । यदी उहाँहरुलाई अझै शंका भए फिल्म देखाउन तयार छौं ।' 
 
रोजीका हत्या आरोपीलाई भेटेका हुन् प्रदीपले ? 
 
फिल्म ‘रोजी’ मा प्रदीपले क्रिमिनलको भूमिका निभाएका छन् । फिल्ममा उनलाई आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा जेल जीवन विताएको देख्न सकिन्छ । आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउन उनले रोजी महर्जनको हत्यामा संलग्न व्यक्तिलाई भेट्न जेल नै पुगेको खबर छ । 
 
प्रदीप यो कुरा गलत रहेको बताउँछन् । ‘रोजी’, रोजी महर्जनको हत्या प्रकरणमा आधारित फिल्म नभएको बताउँदै उनले भने, ‘रोजीका परिवारले पनि मलाई यो कुरा भन्नुभएको थियो । मैले कसैलाई भेट्न जेल गएको छैन । फिल्मको कथा नै फरक हो भने म किन जाने ?’
 
'केही व्यक्ति रोजीको कथामा फिल्म बनाउनका लागि स्विकृत लिन घरमा नै पुग्नुभएको थियो रे' उनले थपे, 'जेलमा गएर हत्यामा संलग्न व्यक्तिलाई पनि भेटेको खबर सुनेको छु तर म चाहिँ गएको छैन ।'