Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

विदेशमा फिल्म बेच्न हिटको नौटंकी !

मनिष अन्जान, काठमाण्डौ, 2018/08/12
 
उदाहरण १ः
 
बैशाख १४ गते प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी नेपाली फिल्म 'कोहलपुृर एक्सप्रेस' ले प्रदर्शनको केही दिनमा नै करोड कमाएको भन्दै अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले केक काटेर सेलिब्रेसन गरिन् । 
 
विदेश राइट्स बेच्न करोडको केक भजाएको आरोप उनीमाथि लाग्यो । अहिले उनी ५/६ सयको केक काटेकै भरमा विदेशमा फिल्म देखाएर भ्याइ नभ्याइ छिन् । कहिले जापान त कहिले कतार, हरेक हप्ता विभिन्न देशमा फिल्मको प्रदर्शन भइरहेको छ । 
 
 
उदाहरण २ः
 
'कोहलपुर एक्सप्रेस' कै सिको गर्दै अभिनेत्री ऋचा शर्माले पनि आफू अभिनीत तथा निर्मित फिल्म 'सुनकेसरी' को करोडको केक काटिन् । प्रदर्शनको दुई दिनमा फिल्मले करोड कलेक्सन गरेको भन्दै उनले पत्रकारलाई साक्षी गरेर कुमारी हलमा केक काटेर खुसीयाली साटेकी थिइन् । 
 
करोडको केक काटेपनि उनको अनुहारको सफलताको खुसी देखिएको थिएन । तर विदेश राइट्स बेच्न उनले करोड लेखिएकै केक काट्न हिचकिचाइनन् । 
 
ऋचाले केक मात्र काटिनन् 'सुनकेसरी २' निर्माण गर्ने घोषणा पनि गरिन् । नेपालबाट लगानी सुरक्षित हुने नदेखेपछि फिल्मको विदेश राइट्स बेच्न केक काटेर नौटंकी गरेको आरोप उनीमाथि पनि लाग्यो । 
 
 
उदाहरण ३ः
 
अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म 'वीराङ्गना' ले समेत करोडको केक काट्यो । विदेश राइट्स बिक्री हुने आशमा प्रदर्शनको तेस्रो दिन नै करोड लेखिएको केक काटेर निर्माण पक्षले खुसी बाँडेको थियो । 
 
हलमा दुई दिन समेत मुश्किलले टिकेको 'वीराङ्गना' ले करोडको केक काट्नु आफैंमा हास्यास्पद थियो । सफलताको केक काटेपनि यो फिल्मको विदेश राइट्स लिन अहिलेसम्म कुनै कम्पनी तयार देखिएका छैनन् । 
 
 
उदाहरण ४ः
 
हालै फिल्म 'भैरे' ले सफलताको पार्टी आयोजना गर्‍यो । नेपालीबाट लगानी सुरक्षित भएको भन्दै निर्माताले दोस्रो सिरिजको समेत घोषणा गरे । यो फिल्मले लगानी त टाढैको कुरा लागतको आधा प्रतिशत पनि नउठाएको चर्चा छ । 
 
तर बिहीवार राजधानीमा फिल्मका कलाकार र पत्रकारलाई मात्र भेला गरेर 'भैरे' टिमले सफलताको खुसीयाली साट्यो । विदेशका विभिन्न देशमा फिल्म प्रदर्शन हुने जानकारी गराइयो भने केही देशमा यति-यति लाखमा राइट्स बिक्री भएको समेत खुलाइयो । तर नेपाल कलेक्सन लुकाइयो । 
 
पत्रकारले निर्देशक एभरेष्ट सूर्य बोहरालाई प्रश्न गरे, 'यति र उति लाखमा विदेश राइट्स बिक्री भएको त भन्नु भयो तर किन नेपाल कलेक्सन खुलाउन सक्नुभएन ?' उनले जवाफमा भने, 'हामीले नेपालबाट सुनाउन लायक अंक प्राप्त गरिसकेका छौं । केही दिनमा नै फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गर्छौँ ।' 
 
राजधानीमा बक्सअफिस लागू भइसकेको अवस्थामा निर्माण टिमले सक्सेस पार्टीमा फिल्मको कलेक्सन सार्वजनिक नगर्नु आफैंमा अनौठो थियो । यसबाट स्पष्ट हुन्छ कि फिल्मले घरेलू बजारबाट भन्न लायक अंक जोड्न सकेको छैन । धन्न् ! 'भैरे' टिमले केक भने काटेन । 
 
ooooooo
 
अचेल कुनै फिल्मले करोडको केक काट्नु र सक्सेस पार्टी गर्नु सामान्य भइसकेको छ । घरेलू बजारमा व्यापार नाजुक भएपनि विदेश प्रदर्शनको आशमा सयको केक काटेर डम्फु बजाउने प्रवृति खुब मौलाएको छ । 
 
करोडको केक काटेपछि विदेशमा फिल्मको डिमाण्ड राम्रो हुने सोच निर्माताहरुमा छ । ४/५ लाख भएपनि हातमा पर्ने आशमा उनीहरु लाजै पचाएर सफलताको पार्टी र करोडको केकमा चक्कु चलाउन गाह्रो मान्दैनन् । 
 
मिडियामा समाचार आउने र त्यसबाट विदेशमा फिल्म प्रदर्शन गर्न कम्पनीहरुको हानाथाप हुने सोचले कुनै फिल्मले अब करोडको केक भजाउनु सामान्यभन्दा सामान्य भइसकेको छ । पछिल्लो समय नराम्रो फिल्मका कारण राम्रा फिल्मले समेत विदेशी मार्केट गुमाउँदै गएका छन् । 
 
अचेल बक्सअफिसमा पत्तासाफ भएका फिल्म सक्सेस पार्टी र करोडको केक काटेपछि जर्वजस्ती हिट बनाइने गरिन्छ । विदेशमा फिल्म चलाउन नेपालमा हिट भएको देखाउनै पर्ने हुन्छ र त्यसका लागि सहज बाटो सक्सेस पार्टी र करोडको केक नै हो । 
 
यसले विदेशमा बनिरहेको नेपाली फिल्मको बजारमा दिर्घकालिन असर पार्ने पक्का छ । नेपालमै नचलेका फिल्म झ्याली पिटेकै भरमा विदेश पुग्दा बक्सअफिसमा सफल फिल्म दराजमै थन्किएर बस्नु पर्ने अवस्था आएको छ । 
Most Visited News (monthly)