Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.75/5.00)
Text size:-
+
-

पूजाजी, डर बोलेको कि घमण्ड ?

मनिष अन्जान, काठमाण्डौ, 2018/08/09
भाद्र २२ गते दुई ठूला फिल्मको भिडन्तको विषयमा अब जानकार सायदै नहोलान् । सुदर्शन थापा निर्देशित फिल्म 'रामकहानी' सँग निरक पौडेलको 'रोजी' भिड्ने तय भएसँगै सिनेवृतमा विभिन्न खाले बहस सुरु भएका छन् ।
 
२०६६ सालमा निरकको 'कुसुमे रुमाल २' सँग सुदर्शनको 'मेरो एउटा साथी छ' जुधेका कारण त्यसको प्रतिसोध साँध्न भाद्र २२ को भिडन्त रचिएको चर्चा एकातिर हुँदै गर्दा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको 'मास्टर प्लान' अनुसार 'रामकहानी' सँग 'रोजी' भिड्न लागेको खबर पनि अहिले 'हटकेक' बनिरहेको छ । 
 
 
हुनत, पछिल्लो समय एकै मितिमा दुईभन्दा बढी फिल्म रिलिज हुनु नौलो होइन । यस वर्षको बैशाखदेखि साउन तेस्रो सातासम्म हेर्ने हो भने कुनै पनि फिल्मले सोलो रिलिज पाएका छैनन् । यसकारण भाद्र २२ को भिडन्तलाई स्वभाविक मान्न सकिन्छ । 
 
'रामकहानी' र 'रोजी' को भिडन्तको खबरले सिनेवृत तताउनुको पछाडि एउटा प्रमुख कारण छ । सुदर्शनले स्टार बनाएका अभिनेता हुन् प्रदीप खड्का । 'प्रेमगीत' मा उनीसँग पूजाको जोडी बाँधिएको थियो । यो फिल्मपछि पूजा र प्रदीप दर्शकमाझ क्लिक भएका थिए । अब झण्डै ४ वर्षपछि यी दुई अभिनेता-अभिनेत्री एकअर्कासँग बक्सअफिसमा आमनेसामने हुँदैछन् । 
 
दर्शकलाई पनि यी दुई फिल्म एकअर्कासँग भिडेको हेर्ने इच्छा छैन । दुवै फिल्म दर्शकमाझ प्रतिक्षीत छन् । ६ महिना अगाडि नै 'रामकहानी' ले रिजर्भ गरेको डेटमा 'रोजी' ले १ महिना अगाडि आएर प्रदर्शन मिति घोषणा गर्नु आफैंमा आश्चर्य हो । अब यी दुई फिल्मको खेलमा जित कसको होला ? हेर्न बाँकी छ । 
 
पूजाको डर बोलेको कि घमण्ड ?
 
आफूले ६ महिना अगाडि नै लक गरेर राखेको रिलिज डेटमा अर्को फिल्म अन्तिम समयमा आएर भिड्न तयार हुँदा जो कोहीलाई भाउन्न हुनु स्वभाविक कुरा हो । एउटा तीतोसत्य चाहिँ के हो भने वर्षमा सय बढी फिल्म रिलिज हुने भएका कारण कुनै फिल्मले सोलो रिलिजको अवसर पाउनु अब असम्भव भइसकेको छ । 
 
केही वर्षयता अधिकांश फिल्मको भिडन्त दुईभन्दा बढी फिल्मसँग हुँदै आइरहेको छ । तर अभिनेत्री पूजा शर्मा आफ्नो फिल्म 'रामकहानी' सँग 'रोजी' भिड्न आएपछि आक्रोशित भएकी छन् । उनले बुधवार फेसबुकमा एक स्टाटसमार्फत् 'रामकहानी' सँग 'रोजी' भिड्नुको पछाडि चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको हात रहेको खुल्लम खुल्ला लेखेकी छन् । 
 
उनले निकितामाथी प्रश्न गर्दै लेखेकी छन्, 'संस्थाको अध्यक्ष भएर चलचित्रकर्मीलाई साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्रको विकासमा ध्यान दिनुभन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्रसँग जुधाएर कुन चाहिँ विकासको लागि लड्दै हुनुहुन्छ ?'
 
 
हुनत, पूजाका लागि विवाद र आलोचना सामान्य हुन् । केही दिन अगाडि ट्रेलर भनेको झुक्याउनका लागि बनाइन्छ भन्दा उनको चर्को आलोचना भएको थियो । अब यो स्टाटसबाट उनले आफ्नै खुट्टामा बञ्चरो हानेकी छन् । उनले लेखेको स्टाटसले उनीमाथि नै हजार प्रश्न तेर्सिएका छन् । 
 
महिलाको फिल्म भन्दैमा अरु फिल्म जुध्न आउनै नहुने हो र ? भाद्र २२ मा 'रामकहानी' मात्र आउनुपर्छ भन्ने कहाँ लेखिएको छ ? महिलाले बनाएको फिल्म भन्दैमा सहानुभूती खोज्नु कति उचित छ ? पूजालाई आफ्नै स्टाटसले प्रश्नको कठघरामा उभ्याएको छ । 
 
उनको स्टाटसबाट यो बुझ्न गाह्रो छैन कि 'रोजी' सँग भिड्नु उनका लागि सहज छैन । अभिनेता प्रदीप खड्काको लोभलाग्दो क्रेज 'रामकहानी' को व्यापारमा बाधक बन्ने कुरा पूजा आफैंले प्रष्ट्याएकी छन् । गएको वर्ष 'म यस्तो गीत गाउँछु' ले सोलो रिलिज पाएको थियो । यसैले उनमा 'रामकहानी' ले पनि त्यही अवसर पाउनु पर्छ भन्ने सोचले जरा गाडेको देखिन्छ । 
 
प्रतिस्पर्धाको बजारमा ममात्रै सर्वैसर्वा ठान्नु कति उचित होला ? पूजा स्वयमले सोच्न आवश्यक छ । कतै उनको स्टाटसले 'रोजी' सँग भिड्नु भनेको 'बाघको मुखमा हात हाल्नु' भन्ने त बोलिरहेको छैन ? 
 
दोष किन बोर्ड अध्यक्षलाई ? 
 
पूजाले आफ्नो आधिकारिक फेसबुकमा आफूले निर्माण र अभिनय गरेको फिल्म 'रामकहानी' सँग 'रोजी' भिड्न आउनु गलत रहेको आशय व्यक्त गरेकी छन् । भाद्र २२ मा आफ्नो फिल्म मात्र प्रदर्शनमा आउनु पर्ने उनको स्टाटस बोल्छ । 
 
 
महिलाले बनाएको फिल्म भएका कारण सोलो रिलिज आफ्नो नैसर्गिक अधिकार रहेको पूजाको स्टाटसका शब्दहरुले चिच्याइ चिच्याइ बोलिरहेका छन् । 
 
उनले आफ्नो फिल्मसँग 'रोजी' जुधाउनुको पछाडि चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले बनाएको 'प्लान' रहेको बताएकी छन् । 'रोजी' का निर्देशक निरक पौडेल, निकिताका आफ्नै भाई भएका कारण फिल्म रिलिजको विषयमा दिदीको कुरा भाईले नसुन्ने त पक्कै हुँदैन । तर निकितालाई नै पूजाले दोषी ठहराउनु अस्वभाविक देखिन्छ । 
 
निकिता चलचित्र क्षेत्रको विकासका लागि बोर्ड अध्यक्षमा नियुक्त भएकी हुन् । उनलाई कुन फिल्म कहिले रिलिज गर्ने भन्ने अधिकार छैन । न त 'रोजी' मा उनको नाम निर्मातामा नै छ । फिल्म रिलिजको टुंगो लगाउने काम निर्माता र वितरकको हो ।
 
 
फिल्म रिलिजको सवालमा निकितालाई मुछ्नु पूजाको गल्ती रहेको चलचित्रकर्मीहरु बताउँछन् । उनले उक्त स्टाटसमा पोखेको आक्रोश 'रोजी' का निर्माता र वितरकमाथि खन्याएको भए सान्दर्भिक हुने धेरैको तर्क छ । अब पूजालाई आवेगमा लेखेको आफ्नै स्टाटसले आलोचनाको पात्र बनाउने पक्का छ । 
 
पूजाले 'कायरा' हेर्दा देखाएको ताण्डव
 
स्टाटसको बारे कुरा हुँदैगर्दा फिल्म 'कायरा' कसरी जोडियो भनेर तपाईलाई अचम्म लाग्नसक्छ । यो प्रशंगमा पूजाले उक्त फिल्म हेर्दा देखाएको रामलिला पनि सान्दर्भिक हुनसक्छ । 
 
शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म 'कायरा' हेर्न अभिनेत्री पूजा शर्मा प्रदर्शनको पहिलो दिन नै हल पुगेकी थिइन् । उनको साथमा अभिनेता आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापा पनि थिए । 
 
उनले फिल्म हेर्दैगर्दा देखाएको ताण्डवको अहिले चियापसलमा चर्चा हुन थालेको छ । उनले पटक- पटक फिल्मका दृश्यमा हाँसेर मजाक उडाएकी थिइन् । फिल्म हेर्न हल पुगेका दर्शक समेत पूजाको स्वभावबाट अचम्मित बनेका थिए ।
 
 
पूजाले 'कायरा' हेर्दा देखाएको ताण्डवबाट आजित भएर निर्देशक सुदर्शन पूरा फिल्म नै नहेरि बाहिरिएको खबर छ । आकाशले भने पूजालाई अन्तिमसम्म साथ दिएका थिए । अन्य कलाकारको फिल्म हेरेर मजाक उडाउनु उनी जस्तो अभिनेत्रीलाई सोभा दिँदैन । 
 
यस्तै, अभिनेत्री शर्माले एक रेस्टुराँमा बसेर आफ्ना केही निकट व्यक्तिहरुसँग आफूलाई नभएर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मिडियाले 'नम्बर वान नायिका' भनेकोप्रति दुखेसो पोखेको कुरा यतिबेला 'एककान दुईकान हुँदै मैदान' भएको छ । 
 
गोप्य स्रोतका अनुसार, उनले आफ्ना फिल्मका गीत र अन्तर्वार्ता साम्राज्ञीको भन्दा बढी जाने तर मिडियाले सधैं साम्राज्ञीलाई नै सपोर्ट गर्ने गरेको भन्दै दुखेसो सुनाएकी थिइन् । पूजाले आफूले आफैंलाई सम्पूर्ण ठान्ने प्रवृतिको अहिले धेरैले आलोचना गर्न थालेका छन् ।
Most Visited News (monthly)