भाद्र २२ गते सुदर्शन थापा निर्देशित फिल्म 'रामकहानी' सँग निरक पौडेलको 'रोजी' जुध्ने भएपछि सिनेवृतमा यसले ठूलै हलचल ल्याएको छ । नौ वर्ष अगाडि निरकको 'कुसुमे रुमाल २' सँग सुदर्शनले आफ्नो फिल्म 'मेरो एउटा साथी छ' जुधाएको प्रतिसोध साँध्न 'रोजी' उक्त मितिमा आउन लागेको चर्चा छ ।

(अभिनेत्री पूजा शर्मा र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल)
हालै यस फिल्मको गीत पनि सार्वजनिक भयो । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहेको 'रोजी' आफ्नो फिल्मसँग भिड्न तयार भएपछि 'रामकहानी' फेम्ड अभिनेत्री पूजा शर्माले फेसबुकमा आक्रोस पोखेकी छन् ।
उनको स्टाटस चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलमाथि खनिएको छ । निर्देशक निरक, बोर्ड अध्यक्ष निकिताका भाई हुन् । निकिताकै 'मास्टर प्लान' मा 'रोजी' आफ्नो फिल्मसँग भिड्न लागेको पूजाको फेसबुक स्टाटसबाट बुझ्न गाह्रो छैन ।
'संस्थाको अध्यक्ष भएर चलचित्रकर्मीलाई साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्रको विकासमा ध्यान दिनुभन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्रसँग जुधाएर कुन चाहिँ विकासको लागि लड्दै हुनुहुन्छ ?' उनले निकितामाथि प्रश्न तेर्साएकी छन् ।
पूजा लेख्छिन्, 'तपाईले मेरो चलचित्र 'रामकहानी' सँग जुधाउनु पर्छ भनेर गरेको प्लान बारे पनि जानकारी पाइसकेको छु । यो कस्तो चलचित्रको विकास गर्दै हुनुहुन्छ ? जबकि तपाइलार्इ थाहा छ मैले ६ महिना पहिला नै भदौ २२ गतेको दिन 'रामकहानी' प्रदर्शन गर्दैछु भन्ने ! तर पनि यसरी जुध्न आउनु राम्रो हो र ?'
.jpg)
'मेरो चलचित्रसँग तपाईले आफ्नो चलचित्र रिलिज गर्नुमा मलार्इ कुनै आपत्ति होइन तर तपार्इ जुन संस्थामा बसेर चलचित्रको विकासको कुरा गर्नु हुन्छ त्यो कुरामा आपत्ति हो, अध्यक्षज्यूको सोचप्रति आपत्ति हो', उनले लेखेकी छन् ।
अभिनेत्री पूजाले आफ्नो स्टाटस अभिनेता भुवन केसी, अभिनेत्री रेखा थापा, संगीतकार अर्जुन पोखरेल, वितरक गोपालकाजी कायस्थ, निर्देशक सुव्रत आचार्य, निर्माता सुवास गिरीसहित दर्जन बढी पत्रकारलाई ट्याग गरेकी छन् ।

