शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर लभस्टोरी फिल्म ‘कायरा’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । प्रदर्शनको दुई दिनमा करोड कमाएको यो फिल्मलाई राम्रो र नराम्रो दुवै कमेन्ट बराबर मिलिरहेको छ ।
प्रदर्शनको दिनदेखि दिनहुँ परिरहेको पानीको असर फिल्मको व्यापारमा देखिएपनि दिनप्रतिदिन दर्शकको संख्यामा वृद्धि भइरहेको वितरकको भनाई छ । फिल्म हेर्ने अधिकांशले आर्यन र साम्राज्ञीको केमेस्ट्रीको तारिफ गरेका छन् ।

२ घण्टा २१ मिनेट लामो फिल्म धेरैले 'लेन्दी' भएको पनि प्रतिक्रिया जनाएका छन् । फिल्मको फ्रेमिङ, डाइलग र लोकेशनको प्रशंसा गर्नेहरु पनि प्रसस्तै छन् । आर्यन र साम्राज्ञीको प्रेममा आउने उचारचढावको कथा ‘कायरा’ ले बोल्छ ।
मंगलवार फिल्मको राजधानीको जय नेपाल हलमा विशेष शोको आयोजना गरिएको थियो । फिल्म हेर्न पत्रकार र सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो ।
निर्देशक तथा हाँस्यकलाकार दीपाश्री निरौला, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेता रमेश उप्रेती, कोरियोग्राफर रेनशा वान्तवा राई, अभिनेत्री करिश्मा श्रेष्ठ, अभिनेता आमेश भण्डारीलगायतले ‘कायरा’ हेरेपछि आफ्नो प्रतिक्रिया सुनाए ।
दीपाश्रीले फिल्म 'लेन्दी' भएको तर्क राखिन् । उनी भन्छिन्, 'फिल्मलाई केही ड्रिम गर्न सकिन्थ्यो । यदी म हुन्थेँ भने अलि ड्रिम गर्थेँ र घटना क्रमलाई एकदम चाँडो ल्याउथेँ । चुस्त र दुरुस्त बनाउनका लागि २ घण्टा २१ मिनेटको फिल्मलाई २ घण्टाको बनाउन सकिन्थ्यो ।'
.jpg)
उनले बनिरहेका लभस्टोरी फिल्मभन्दा 'कायरा' फरक रहेको पनि बताइन् । उनी थप्छिन्, 'यस्तो फिल्महरु बनिरहनु पर्छ । पहिला मलाई आर्यन चकलेटी ब्वाई लाग्थ्यो । यो फिल्ममा चाहिँ जिम्मेवारी ब्वाई लाग्यो ।'
अभिनेता रमेश उप्रेतीले आर्यनलाई फिल्ममा 'किंग अफ रोमान्स' देखिएको बताए । अभिनेत्री झरना थापाले फिल्मको ट्रयाजिटी पाटो उत्कृष्ट रहेको बताइन् । उनले फिल्ममा कमेडीको खाँचो औल्याइन् ।
अभिनेत्री करिश्मा मानन्धरले भने फिल्मको मेकिङको प्रशंसा गरिन् । 'फिल्मका दृश्यहरु सफा छन् । आर्यनको पहिलाको छवि फेरि एकपटक छल्किएर आएको छ । बनिरहेका फिल्मभन्दा मलाई 'कायरा' फरक लाग्यो', उनले भनिन् । कोरियोग्राफर रेनशाको फिल्म राम्रो बनेपनि कस्टुम डिजाइन आकर्षक नभएको भनाई छ ।
.jpg)
यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।

