Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यसकारण ‘रामकहानी’ सँग जुध्दैछ ‘रोजी’ !

मनिष अन्जान, काठमाण्डौ, 2018/08/07
२०६६ सालको कुरा हो । भाद्र २६ गते गोपीकृष्ण ब्यानरको 'कुसुमे रुमाल २', सुदर्शन थापाको 'मेरो एउटा साथी छ' र 'छोडि गए पाप लाग्ला' सहित चार फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । 
 
यसलाई आजपनि २०६६ सालकै सबैभन्दा ठूलो भिडन्तको रुपमा हेरिने गरिन्छ । चार फिल्ममध्ये 'मेरो एउटा साथी छ' बक्सअफिसमा सुपरहिट साबित हुँदा अरु पत्तासाफ भएका थिए । अब नौ वर्षपछि कहानीमा नयाँ ट्वीस्ट आएको छ । 
 
'कुसुमे रुमाल २' ले तय गरेको रिलिज डेटमा 'मेरो एउटा साथी छ' भिड्न आए झैँ आउँदो भाद्र २२ गते सुदर्शनको 'रामकहानी' सँग गोपीकृष्ण ब्यानरको फिल्म 'रोजी' भिड्ने तय भएको छ । 'कुसुमे रुमाल २' र 'रोजी' का निर्देशक निरक पौडेल हुन् । 
 
 
भाद्र २२ गतेको रिलिज डेट ३ महिना अगाडि नै निर्देशक थापाले आफ्नो फिल्म 'रामकहानी' का लागि लक गरेका थिए । अब उक्त मितिमा निरकको 'रोजी' भिड्ने भएपछि यसले सिनेवृतमा ठूलै तरंग ल्याएको छ । 
 
'रामकहानी' सँग 'रोजी' भिड्नुको कारण नौ वर्ष अगाडिकै घटना प्रमुख हो । 'मेरो एउटा साथी छ' का कारण 'कुसुमे रुमाल २' ले घरेलू बजारमा पानी समेत भन्न पाएको थिएन । अब गोपीकृष्ण ब्यानर नौ वर्षपछि फिल्म जुधाएर प्रतिसोध साँध्ने तयारीमा छ । 
 
दुवै फिल्ममा दर्शकले पत्याएका कलाकार छन् । पूजा शर्मा 'रामकहानी' की लिड एक्ट्रेस हुन् भने अहिलेका 'हटकेक' प्रदीपको 'रोजी' मा प्रमुख भूमिका छ । यो जोडीले यसअघि सुदर्शनको निर्देशनमा बनेको फिल्म 'प्रेमगीत' मा सँगै काम गरेका थिए । 
 
यो फिल्म रिलिज भएपछि प्रदीपको सुदर्शन र पूजासँग सुमधुर सम्बन्ध रहन सकेन । उनीहरु दुई खेमा भए । झन्डै ३ वर्षसम्म उनीहरुको बोलचाल समेत भएन । हालैमा प्रदीपले पूजा र सुदर्शनसँग अंकमाल गर्दै सम्बन्ध सुधारेका थिए । 
 
सुदर्शनले पूजा र प्रदीपलाई लिएर पुनः नयाँ फिल्म बनाउने समेत चर्चा सुरु भएको थियो । अब त्यो भाद्र २२ को भिडन्तले सबै तितरवितर बनाउने तय छ । यो मितिमा 'रामकहानी' सँग 'रोजी' जुधाउन प्रदीपको पनि महत्वपूर्ण हात रहेको स्रोत बताउँछ । 
 
हुनत, फिल्म क्षेत्रमा इगो साध्ने प्रवृति नौलो होइन । तर दुई ठूला फिल्म एकसाथ आउँदा दुवैलाई ठूलो घाटा हुने पक्का छ । अब भाद्र २२ को महायुद्धमा कसको पल्लाभारी होला ? सबैका लागि चासोको विषय बनेको छ । 
 
प्रदीपको निर्णय सही कि गलत ? 
 
फिल्म 'प्रेमगीत' अगाडिसम्म अभिनेता प्रदीप खड्का गुमनाम थिए । 'स्केप' फिल्मबाट डेब्यु गरेपनि यसले उनलाई अभिनेताको रुपमा स्थापित गर्न सकेन । अष्ट्रेलिया जान लगेजमा कपडा प्याक गर्दैगर्दा उनलाई निर्देशक सुदर्शन थापाले 'प्रेमगीत' अफर गरेका थिए । 
 
दोधारका बीच प्रदीपले यो फिल्म साइन गरे । फिल्म बक्सअफिसमा सफल त भएन तर उनी दर्शकको नजरमा राम्रैसँग क्लिक भए । यो फिल्मपछि उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । पछिल्लो समय नेपालका महंगा अभिनेतामा उनको नाम अग्रणी स्थानमा आउँछ । 
 
 
'प्रेमगीत २' र 'लिलिबिली' पश्चात् प्रदीपको क्रेज लोभलाग्दो बनेको छ । उनलाई लिएर फिल्म बनाए मुनाफा कमाउन गाह्रो नहुने सोच निर्माताहरुमा छ । अचेल उनका फिल्मसँग जुध्नु भनेको 'बाघको मुखमा हात हाल्नु सरह' समेत भन्ने गरिन्छ । 
 
तर भाद्र २२ गते आफूलाई स्टार बनाएका निर्देशककै फिल्म 'रामकहानी' सँग उनी 'रोजी' मार्फत् आमनेसामने हुँदैछन् । डुबिसकेको करिअरको डुङ्गालाई उकास्ने निर्देशककै फिल्मसँग प्रदीप भिड्न तयार हुनुलाई कतिले दुःखद भनिरहेका छन् भने कोही सही निर्णय रहेको तर्क राख्छन् । 
 
कतै निर्माता-निर्माताबीचको द्वन्द्वमा उनी परेका त होइनन् ? वा, यो खेलका क्याप्टेन नै उनी हुन् ? यसको पर्दाफास त अब समयले नै गर्नेछ । एउटा तीतोसत्य चाहिँ के हो भने अचेल नेपाली फिल्मले सोलो रिलिज पाउनु भनेको दुर्लभ भइसक्यो ।
Most Visited News (monthly)