.jpg)
सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो ५० औँ जन्मदिन मनाउँदै फिल्म निर्देशनमा होमिने उद्घोष गरेका छन् । शनिवार राजधानीमा एक कार्यक्रमका बीच उनले फिल्मको औपचारिक रुपमा निर्माण घोषणा समेत गरे ।
फिल्मको नाम ‘बकम्फुसे राजा’ राखिएको छ । यो फिल्मबाट पत्रकार सुवेदीले फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको यस फिल्ममा गणेश सुवेदीको लगानी रहनेछ ।

फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्ने जिम्मेवारी पाएका छन् भने विष्णु कल्पित छायाँकारमा अनुबन्ध भएका छन् । सुनिल श्रेष्ठको स्क्रिप्ट रहेको फिल्मका प्रमुख कलाकारको भने घोषणा गरिएको छैन ।
‘बकम्फुसे राजा’ मा अभिनेत्री वर्षा राउत लिड रोलमा हुने चर्चा छ । फिल्मको घोषणा सभामा उनी पनि उपस्थिति भएकी थिइन् । यस्तै, अभिनेतामा खगेन्द्र लामिछानेसँग कुरा भइरहेको स्रोत बताउँछ ।

निर्देशक बन्न लागेका सुवेदीले केही दिनमा कलाकारको विषयमा जानकारी दिने बताए । ‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य टेलिसिरियल निर्देशन गरिसकेका उनले सञ्चालन गर्ने फिल्म सम्बन्धी कार्यक्रम ‘रजतपट’ एक समय निकै हिट थियो ।

