बलिउड सुपरस्टार सञ्जय दत्तको जीवनीमा फिल्म बन्यो 'सञ्जू' । यो फिल्मले बलिउडको सारा समिकरण उथलपुथल पार्यो । कमाईका सारा रेकर्ड ध्वस्त पार्यो । यो फिल्मले सानदार कलेक्सन गर्दैगर्दा नेपालमा एउटा बायोपिक फिल्मको चर्चा सुरु भएको थियो ।

फिल्म हो ‘बोबी’ । 'सञ्जू' ले भारतमा जबर्जस्त कलेक्सन गरिरहँदा उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित यो फिल्म बक्सअफिसमा पत्तासाफ हुने रिलिज अगावै धेरैको अनुमान थियो । तर, रिजल्ट विपरित निस्कियो ।
असार २९ गते प्रदर्शनमा आएको यो फिल्मले शुक्रवारबाट चौँथो हप्तामा प्रदर्शन सुरु गरेको छ । अधिकांश सिंगल थिएटरबाट फिल्म उत्रिसकेपनि मल्टिप्लेक्समा अझै शो पाइरहेको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले यस फिल्मको सक्सेस पार्टी मनाएको छ । जहाँ निर्देशक मिलन चाम्स, प्रमुख कलाकार उमेश र कवितासहित अन्य कलाकार, प्राविधिक, गायक, संगीतकार, सम्पादक, लेखकको उपस्थिति थियो ।
कार्यक्रममा निर्देशक र कलाकारसहितको टीमले फिल्मको सफलताको खुसी एकअर्कासँग साटासाट गर्दै सफलताको सबै श्रेय मिडिया र दर्शकलाई दिए । फिल्मले सफलताको झन्डा फहराउँदै गर्दा ‘बोबी’ जोडीलाई पुनः एकपटक पर्दामा हेर्ने दर्शकको चाहना छ । के यो पूरा होला ? उमेश र कवितामाथि पत्रकारले प्रश्न गरे ।
कविताले पर्दा त घरमा झुन्डिन्छ भन्दै हाँसोको माहोल बनाइन् । उमेश, निर्देशक मिलन चाम्सबाट राम्रो स्क्रिप्टबाट अफर आएमात्र काम गर्ने बताउँछन् । उनले भने, 'कहानी छ, दर्शकको डिमाण्ड छ । टाइम मिलाएर मिलन दाई गर्न तयार हुनुभए हामी आउन सक्छौ ।' निर्देशक चाम्सले उमेशको संघर्षको कथामा ‘बोबी-२’ बन्न सक्ने संकेत गरे ।
(3)(1).jpg)
'उमेशको कहानी मैले धेरै पटक सुनिसकेको छु । त्यो कहानी झन् दर्दनाक छ । त्यो चिजले पक्कै पनि प्रत्येक नेपालीलाई हौसला मिल्छ । उसको बाल्यकाल कसरी वित्यो, कसरी नर्वे पुग्यो, नर्वेमा गएर के-के गर्यो ? त्यो कथामा एउटा राम्रो फिल्म बन्छ', चाम्सले भने ।
उनले उमेशले हातमा लगाएको लौँठी देखाउँदै थपे, 'यो औँठो उसले प्राप्त गरेको एउटा महत्वपूर्ण सफलता हो । औँठी हेर्दा नर्मल देखिन्छ । तर, यो भनेको राष्ट्रले गर्व गर्ने कुरा हो । प्रत्येक वर्ष नर्वेजन यूनिर्भसिटीमा टप गर्ने एकजना विद्यार्थीले मात्र यो औँठी पाउँछ । यो कथामा फिल्म बन्न आवश्यक छ । उमेशको संघर्ष र सफलताको कथामा ‘बोबी-२’ बन्न सक्ने प्रवल सम्भावना छ ।'
निर्देशक चाम्सले आफू अहिले व्यस्त भएका कारण ‘बोबी-२’ को तत्काल घोषणा गर्न नसक्ने बताए । उमेशको जीवनको सफलता र संघर्षको कथामा एउटा राम्रो फिल्म बन्न सक्ने तर्क उनको छ । उमेशले पर्दामा आफूहरुको मात्र नभएर अरुको पनि कथा आउनु पर्ने भनाई राख्छन् ।
उनी भन्छन्, 'हाम्रो समाजमा कति धेरै कथा छन् ती पर्दामा आउनु पर्छ जस्तो मलाई लाग्छ । म चाहन्छु कि हरेक नेपालीको कथा पर्दामा आओस् । विदेशी फिल्म हेर्दा हामी कति इन्जोय गर्छौँ त्यसरी नै हाम्रै समाजका कथा आउने हो भने कति राम्रो हुन्थ्यो । म सबै निर्देशक निर्माताहरुलाई पनि यो आग्रह गर्छु ।'
आफ्नो संघर्ष र सफलताको कथा पर्दामा आओस् भन्ने चाहना छ ? पत्रकारले उनलाई प्रश्न गरे । उनले यसको जवाफ लामो दिन चाहेनन् । भने, 'लेट्स वेट एन्ड सी ।' ‘बोबी’ को कथा लेखेका सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले ‘बोबी २’ को कथा लेख्न आफू तयार रहेको बताए ।
(3)(1).jpg)
‘बोबी’ ले नेपालबाट अझै लगानी सुरक्षित भने गरिसकेको छैन । अधिकांश छायांकन नर्वेमा भएका कारण फिल्मको बजेट उच्च छ । तर, 'स्टार भ्यालु' नभएका कलाकारको अभिनय रहेको फिल्मले दर्शक बढाउँदै लैजानु आफैंमा एउटा ठूलो सफलता हो । अब यसको दोस्रो भाग बन्छ वा बन्दैन ? सबैका लागि चासोको विषय बनेको छ ।

