'नपत्याउने खोलाले पनि बगाउँछ' त्यसै भनिएको होइन रहेछ । समयले साथ दियो भने नपत्याउने खोलाले बगाउँछ । तहसनहस बनाउँछ र खुसी पनि ल्याउँछ । यस्तै, भयो फिल्म ‘बोबी’ ।
रिलिज अगाडिसम्म यो फिल्मले दर्शकको अपत्यारिलो साथ पाउँछ भन्नेमा निर्माण टिम स्वयमलाई विश्वास थिएन । यसको पछाडि एउटै कारण थियो । फिल्ममा 'स्टार भ्यालु' भएका कोही कलाकार थिएनन् ।
.jpg)
जसको रियल कथामा फिल्म बनेको थियो कलाकार पनि उनै थिए । उमेश थापा र कविता गुरुङको रियल कथामा निर्माण भएको फिल्म हो यो । न प्रोफेसनल कलाकार न त दर्शक नै यो जोडीको विषयमा जानकार थिए । निर्देशक मिलन चाम्सलाई उमेश र कविताको लभस्टोरी मन पर्यो र फिल्म बनाउने जोखिम उठाए ।
अचेल 'स्टार भ्यालु' भएका कलाकारका मात्र फिल्म चलिरहेको अवस्थामा फिल्म ‘बोबी’ चल्ने कुनै महत्वपूर्ण आधार थिएनन् । 'आँखाको नानी...' बोलको गीतले चर्चा बटुलेपनि त्यो दर्शकलाई हलसम्म तान्नका लागि काफी थिएन । निर्माता समेत रहेका चाम्सले फिल्मको हाइप बनाउन देशव्यापी सांगीतिक कन्सर्ट गर्ने सोच बनाए र देशदौडाहामा निस्किए ।
‘बोबी’ असार २९ गते रिलिज भयो । योसँग अन्य तीन फिल्म पनि एकसाथ प्रदर्शनमा आएका थिए । सुरुवाती व्यापार फिल्मको निकै कमजोर रह्यो । तर, दोस्रो साताबाट भने फिल्मले विस्तारै 'पिकअप' लिन थाल्यो । सिंगल थिएटरमा फिल्म पहिलो हप्तामै उत्रियो । मल्टिप्लेक्समा भने दर्शकको घुइँचो दिनप्रतिदिन बढ्दै गयो ।
अन्ततः आज शुक्रवारबाट ‘बोबी’ प्रदर्शनको चौँथो हप्तामा प्रवेश गरेको छ । योसँग आएका अन्य तीन फिल्म त हलबाट उत्रिएर पनि अब यूट्युब रिलिजको तयारीमा छन् । ‘बोबी’ ले भने अझै मल्टिप्लेक्समा शो पाइरहेको छ । फिल्म हेर्ने अधिकांश दर्शकले उमेश र कविताको प्रेम कथालाई औधि रुचाएका छन् ।
बिहीवार साँझ राजधानीमा एक कार्यक्रमका बीच फिल्मको सक्सेस पार्टी मनाइएको छ । उमेश र कविता अब नर्बे फर्किन लागेका कारण मिडियालाई धन्यवाद दिन सक्सेस पार्टीको आयोजना गरिएको थियो । पार्टीमा निर्देशक चाम्ससहित उमेश र कविता आफ्नो छोरासँग उपस्थित भएका थिए ।
(3).jpg)
कविता र उमेशले आफ्नो कथामा फिल्म बनाउने जोखिम उठाउँदै गर्दा मिलन चाम्सलाई भनेका रहेछन्, 'दाई हामी तपाईको शिर झुकाउन दिने छैनौं ।' फिल्मको सक्सेस पार्टीमा ती कुरा सम्झिँदै आफूहरुले गरेको प्रतिवद्धता पूरा गरेको भन्दै कविता गहभरी भइन् ।
चुलबुले स्वभावकी उनले मिडियालाई विशेष धन्यवाद दिँदै भनिन्, 'म मिलन दाईलाई दाई मान्छु । हामी कहाँ दाईको खुट्टा छुने चलन छैन । तर, ‘बोबी’ सक्सेस नभएपनि मैले जे गर्छु भनेको थिएँ त्यो आज गर्दैछु । उमेश र मैले हाम्रो निधारले दाईको पाउ छुन चाहन्छौं ।' उनको यो कुराले पार्टी मूडमा रहेका जो कोहिँ स्तब्भ भए ।
कविताले मिडियाकै सामु निर्देशक मिलन चाम्सले पाउ छोइन् । उमेश गहभरी भए । मिलनले दुवैलाई अंकमाल गरे । उमेश र कविता रुँदै चाम्सको अंकमालमा निकैबेर बाँधिए । हेर्दा फिल्मी जस्तो लागे पनि यो रियल दृश्यले सबैलाई भावुक बनाएको थियो ।
आफूलाई सम्हाल्ने प्रयास गर्दै ‘बोबी’ का नायक उमेशले डल्लु (कविता) र आफू भाग्यमानी रहेको बताए । उनले भने, 'सबैको कथा हुन्छ । सबै त्यति भाग्यमानी हुँदैनन् जसको कहानी पर्दामा आउँछ । यो सबै हुनुको कारण भनेको एउटा निर्देशक हो । हामीलाई त्यो अवसर दिनुभयो मिलन दाईलाई धन्यवाद दिन चाहन्छु ।'
'डल्लुले मिलन दाईको पाउ छोइन् । मैले १५ वर्ष कविताको काकासँग समेत शीर निहुँराइनँ । तर, म मिलन दाईलाई टाउको निहुँराएर ढोग्छु ।' उमेशले पाउ छुनै खोज्दा निर्देशक चाम्सले उनको टाउको काँधमा राखे । फेरि पार्टी माहोल एकाएक चिसियो ।
उमेशले रिल र रियल लाइफ श्रीमति कविताप्रति पनि प्रेम र सम्मानको भाव पोखे । उनले भने, 'डल्लु मेरो इज्जत हो । उसले गरेर मैले आज यतिधेरै इज्जत पाएको छु कि म शब्दमा भन्न सक्दिनँ । पूर्नजन्म हुन्छ कि हुँदैन थाहा छैन । तर, भयो भने मलाई ऊ जस्तै माया गर्ने मान्छे चाहिँदैन मलाई डल्लु नै चाहिन्छ ।'
(3).jpg)
उनले आफ्नो कुरा राख्ने क्रममा पाइलट तथा फिल्मका कलाकार विजय लामालाई पनि सम्झिए । उमेशले विजय लामाको आफू 'ज्वाइँ' हुन पाएकोमा गर्व महशुस गरेको बताए । यस्तै, निर्देशक चाम्स र कविताले ‘बोबी’ लाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्मको कलेक्सन रिपोर्ट भने खुलाउन चाहेनन् । 'फिल्मले करोडौं कमाइसकेको छ । तर, त्योभन्दा ठूलो कुरा हामीले दर्शकको अथाह माया पाएका छौं । त्यो पैसामा तुलना गर्न सकिन्न', उनले भने ।

