'प्रेमगीत' रिलिज अगाडिसम्म अभिनेत्री पूजा शर्मा गुमनाम थिइन् । निर्देशक सुदर्शन थापाको हात समाउँदै केही फिल्म गरेपनि उनको न चर्चा हुने गर्थ्यो न त आलोचना नै । तर, 'प्रेमगीत' उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो ।

फिल्म 'म यस्तो गीत गाउँछु' ले उनलाई 'स्टार' बनायो । नियमित फिल्म हेर्ने दर्शकका लागि अब उनको नाम नौलो रहेन । रिल होस् वा रियल, चुलबुले नायिकाको छवि बनाएकी उनी बेला बखतमा भने आफ्नै अभिव्यक्तिका कारण आलोचित बन्ने गरेकी छन् ।
भाद्र २२ गते उनी अभिनीत नयाँ फिल्म 'रामकहानी' रिलिज हुँदैछ । सुदर्शन थापा निर्देशित यस फिल्ममा आकाश श्रेष्ठसँग पूजाको जोडी बाँधिएको छ । ट्रेलर सार्वजनिक गर्न बिहीवार राजधानीमा एक कार्यक्रम राखिएको थियो, जहाँ पूजाको जिब्रो नचाहँदा-नचाहँदै चिप्लियो ।
फिल्मको ट्रेलरमा उनलाई भूत अवतारमा देख्न सकिन्छ । भूत बन्नका लागि हरर फिल्म चाहिँ कति हेर्नुभयो ? पत्रकारले उनलाई प्रश्न गरे । पूजाले ट्रेलर हेर्ने वितिक्कै भूत नै नसम्झन आग्रह गरिन् ।
.jpg)
उनले भनिन्, 'ट्रेलरमा हामी बेस्ट-बेस्ट मात्र पार्ट देखाउँछौं । फिल्म कस्तो छ त्यो त रिलिज पछि मात्र थाहा हुन्छ । भूत चाहिँ नभनि हालौं । तपाईहरुले त्यो फिल गर्नु भयो मलाई जिते झैँ महशुस भयो । ट्रेलर भनेको झुक्याउन बनाइन्छ ।'
उनले यसो भन्दा निर्देशकदेखि कार्यक्रममा उपस्थित फिल्मका प्रमुख कलाकारले हाँसो रोक्न सकेनन् । कलाकार विल्सन विक्रम राईले 'गूड जोक' भन्दै माहोल तताउने काम गरे ।
पूजाले आफ्नो कुरा राखेपछि उनको बचाउ गर्दै सुदर्शनले मिडियाप्रति व्यंग गरे । उनले भने, 'अब मिडियामा यो आउने होला पूजाले भनिन् ट्रेलर भनेकै झुक्याउनलाई हो ।'
सुदर्शनले पूजाको गल्ती ढाकछोप गर्ने प्रयास गरेपनि एउटा चर्चित अभिनेत्रीको अभिव्यक्तिले ठूलो अर्थ बोक्छ । ट्रेलर भनेको दर्शकलाई हलसम्म तान्ने प्रमुख अस्त्र हो । ट्रेलरबाटै फिल्मको मुल्यांकन गर्ने गरिन्छ । कति दर्शक त ट्रेलर हेरेकै भरमा पनि हलसम्म पुग्ने गर्दछन् ।
.jpg)
तर, फिल्मको प्रमुख कलाकारले नै ट्रेलरलाई दर्शक झुक्याउने वस्तु सम्झनु आफैंमा हास्यास्पद कुरा हो । बोल्दा सजक नहुँदा अभिनेत्री पूजा शर्मालाई अब आफ्नै अभिव्यक्ति भारी पर्ने देखिन्छ । भोली रिलिजको बखत दर्शकले चाहिँ उल्टै नझुक्याउन, हाम्रो कामना छ ।

