‘कायरा’ लाई वर्ष २०७५ को प्रतिक्षीत फिल्मको रुपमा लिइएको छ । चकलेटी ब्वाई आर्यन सिग्देल र अहिलेकी डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण पनि फिल्मप्रति दर्शकको चासो बढेको छ ।
गीतसंगीत र ट्रेलरले फिल्मको हाइप मेन्टेन गरिरहँदा आर्यन र साम्राज्ञी प्रचार-प्रसारमा पनि उतिक्कै खटिरहेका छन् । यसअघिका फिल्ममा यी दुईलाई यो रुपमा प्रचारमा दौडिएको देखिएको थिएन । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कायरा’ को प्रचारका लागि अहिले यो कपल मोफसल दौडाहामा छन् ।
पोखरा हुँदै सोमवार चितवन पुगेका उनीहरुले पत्रकारसँग फिल्मको विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरे । पत्रकारको प्रश्नमा अभिनेता सिग्देलले फिल्मको छायांकन फिलिपिन्समा गरिनुको कारण खुलाए ।
उनी भन्छन्, 'मैले मायामा संघर्ष गरेर पनि असफल पात्रको भूमिका निभाएको छु । मायामा प्रायः असफल भएपछि यो ठाउँ र यो ठाउँसँग बसेको मायाबाट भाग्नका लागि ऊ नेपालबाट काहिं जानु पर्ने हुन्छ । त्यसैका लागि ऊ फिलिपिन्स जान्छ । फिलिपिन्स नै जानु पर्ने थिएन तर दर्शकलाई फ्रेस लोकेशन दिउँ भन्नका लागि गएका हौं ।'
सबै कुरामा भाग्यमानी भएपनि मायाको कुरामा आफूले निभाएको पात्र अभागी रहेको आर्यनले बताए । कायरा र जयको प्रेममा आउने उतारचढावलाई फिल्ममा देखाइएको छ । बनिरहेका लभस्टोरी फिल्मभन्दा ‘कायरा’ मा परिस्थिति, चरित्र र क्यारेक्टरको आउटलुक फरक रहेको उनको भनाई छ ।
आर्यनले बालकदेखि वृद्धसम्मलाई इन्डिकेट गरेर बनाइएको लभस्टोरी फिल्म रहेको बताउँछन् । यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले टाइटल क्यारेक्टरमा आफू रहेको बताइन् ।
उनी भन्छिन्, 'ब्रेकअप भएपछि कायरा स्याड हुने, चित्त दुख्ने, रुने, जे कुरा राम्रो होइन आफ्नो लागि त्यो कुरा गर्न मन लाग्ने फेजमा हुन्छ । त्यतिबेला उसले जयलाई भेट्छ । जय पनि रिलेशनसिपमा छ तर खुसी छैन । यी दुईजना साथी भएपछिको उचारचढाव हो फिल्म ।'
उनले आफूले गर्दा जयलाई सुःख हुन्छ वा दुःख हुन्छ भन्ने कुरा फिल्ममा देख्न पाइने बताइन् । उनले यो फिल्म साइन गर्नुको पछाडि निकै ठूलो कारण रहेको पनि बताएकी छन् । उनले थपिन्, 'एकदमै राम्रो छ स्क्रिप्ट । हामीले गीत र ट्रेलरमा स्टोरी अलिकति पनि रिभिल गरेका छैनौं । जय र कायराको जर्नी हो फिल्म ।'
.jpg)
चितवन बसाईको क्रममा आर्यन र साम्राज्ञीले केहि कलेजमा समेत फिल्मको प्रचार गर्न भ्याए । विधार्थीहरुले ‘कायरा’ हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । चितवनका केहि कलेज पुग्दा ‘कायरा’ जोडीको लोभलाग्दो क्रेज देखिएको थियो ।
यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।

