अभिनेत्री प्रियंका चोपडाले अभिनेता सलमान खानको फिल्म ‘भारत’ बाट हात झिकेकी छन् । खबरअनुसार, प्रियंका आफ्नो अमेरिकन ब्वाईफ्रेण्ड निक जोनससँग विवाहको प्लान गरिरहेकी छिन्, जसका कारण उनी ‘भारत’ बाट बाहिरिएकी हुन् ।
तर, अब एक खबर बाहिर आएको छ, जसले झन् बढी कन्फ्यूज बनाउन सक्छ । आजतकमा प्रकाशित समाचारका अनुसार, प्रियंकाले फरहान अख्तर स्टारर फिल्म 'द स्काई इज पिंक' साइन गरेकी छन् । यसको छायांकन ८ अगस्टबाट हुँदैछ ।

फरहानको फिल्मसँग जोडिएका एक व्यक्तिले भनेका छन्, 'प्रियंकाले फिल्म 'द स्काई इज पिंक' का लागि ८ अगस्टबाट समय दिँदैछिन् । यदी उनले विवाहको तयारी गरिरहेको भए हामीलाई बताउने थिइन् । प्लान त यही थियो कि सलमानको फिल्म ‘भारत’ र हाम्रो फिल्मको छायांकन सँगै चल्नेछ । तर, अब उनले मात्र हाम्रो फिल्मका लागि समय दिनेछिन् ।'
सुत्रका अनुसार, प्रियंकाले अली अब्बास जफरको फिल्म छाड्नुको पछाडि विवाह मुख्य कारण होइन् । उनले फिल्ममा आफ्नो भूमिकालाई हेर्दै यो निर्णय लिएको हुनसक्ने बताइएको छ । किनकी, सलमानको फिल्ममा उनको भूमिका खासै लामो छैन् ।
शोनाली बोसको फिल्म 'द स्काई इज पिंक' मा भने उनी लिड रोलमा छिन् । प्रियंकाले सलमानको फिल्म छाड्नुको कारण निकसँगको विवाह बताइएपनि वास्तविक कारण अझै खुल्न सकेको छैन । यदी विवाहकै लागि फिल्म छाडेको भए अचानक दोस्रो फिल्म किन साइन गरिन् ? यसले सबैलाई चकित बनाएको छ ।

