हिट सिरिज 'प्रेमगीत' का निर्माता सन्तोष सेनले निर्माण गरेको नयाँ फिल्म ‘मेरी मामु’ आउँदो भदौ १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनले आफ्नै ६ वर्षिय छोरा आयुव सेनलाई डेब्यु गराएका छन् । यम थापा यो फिल्मका निर्देशक हुन् ।
शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टीमको उपस्थितिमा फिल्मको टाइटल गीत सार्वजनिक गरियो । तर, कार्यक्रममा निर्माता सेन र निर्देशक थापा फिल्मको विषयमा कम 'नाई नभन्नु ल' फेम्ड बाल कलाकार अनुभव रेग्मी र यसका मेकर्समाथि बढी खनिएका थिए ।
पत्रकारले निर्माता सेनमाथि सार्वजनिक गीतमा बच्चाकै स्वर किन नराखेको ? भन्दै प्रश्न गरे । उनले बलिउडको उदाहरण दिँदै भने, 'बाल मनोविज्ञानमा बनेका बलिउडका फिल्ममा पनि बच्चाले गीत गाएको सुनेको छैन मैले । र, म बच्चाले लभ गर्दै हिँड्ने फिल्म बनाउँदिनँ ।'

उनले घुमाउरो शैलीमा बाल कलाकार अनुभव रेग्मीले 'नाई नभन्नू ल' का सिरिजमा निर्वाहा गरेको भूमिकामाथि व्यंग्य प्रहार गरेको बुझ्न मुश्किल थिएन । उनको व्यंग्य निर्देशक विकासराज आचार्यमाथि पनि थियो किनकी, नेपाली फिल्ममा बाल कलाकारलाई रोमान्टिक भूमिकामा प्रस्तुत गर्ने निर्देशकमा उनको नाम अगाडि आउँछ ।
निर्देशक थापाले पनि अनुभवप्रति व्यंग गर्न छाडेनन् । फिल्ममा अनुभव रेग्मीलाई लिनुपर्छ भन्ने सोच पलाएको थियो ? निर्देशकमाथि पत्रकारले प्रश्न गरे । उनले ठाडै अनुभवलाई बालकलाकार भन्न नमिल्ने बताए । उनले भने, 'अनुभव अहिले बच्चा छैन । हिरो भइसक्यो । किनकी, ऊ लभ गर्दै हिँडिरहेको छ ।'
बाल कलाकार अनुभव रेग्मी र 'नाई नभन्नू ल' का मेकर्सलाई 'मेरी मामु' का निर्माता र निर्देशकले पालैपिलो निशाना बनाउँदा जो कोहिं आश्चर्यमा परेका थिए । स्मरण रहोस्, निर्माता सेनले निर्माण गरेको 'प्रेमगीत २' मा अनुभवकै आमा कविता रेग्मीले अभिनेता प्रदीप खड्काकी आमाको भूमिका निर्वाहा गरेकी थिइन् ।
कतै अनुभवले यो प्रोजेक्ट नकारेका कारण निर्माता/निर्देशकको रोइलो त होइन यो ? वा 'नाई नभन्नू ल ५' थ्रेट भएका कारण अनुभवलाई निशाना बनाइएको हो ? किनकी, 'मेरी मामु' रिलिजको एक साता अगाडि 'नाई नभन्नू ल ५' रिलिज हुँदैछ ।

