Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभितको तर्क, ‘सलोनलाई रुवाउँदा ‘बाबु कान्छा’ डुब्यो’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/26
चरित्र अभिनेतामा सलोन बस्नेतको डिमाण्ड राम्रो छ । तर, उनी लिड हिरोमा भने चल्न सकेका छैनन् । उनले जति फिल्ममा सह-अभिनेता भएर काम गरेका छन् ती प्रायः हिट छन् । लिड हिरो भएर काम गरेका अधिकांश फिल्मले निर्माताको बिल्लीबाठ बनाएको छ । 
 
 
बाल्यकालमा सिरियस क्यारेक्टर निभाएपनि उनले लिड रोलमा डेब्यु गरेको फिल्म 'होस्टेल' मा कमेडी गरे । फिल्म हिट भयो । रोचक कुरा त उनको कमेडीले धानेका फिल्मले बक्सअफिसमा राम्रो पैसा छापेका छन् । 'गाजलु', 'ए मेरो हजुर २' यसका ताजा उदाहरण हुन् । 
 
चुलबुले क्यारेक्टरमा सर्वाधिक रुचाइएका उनले केहि फिल्ममा सिरियस भूमिका पनि प्ले गरे, जसले उनको करिअरलाई समेत ठूलो घाटा गर्‍यो । उनलाई सिरियस क्यारेक्टर नभएर कमेडी नै फिट हुने पछिल्ला उदाहरण साक्षी छन् । हालसालैको कुरा गर्ने हो भने सलोन अभिनीत फिल्म ‘बाबु कान्छा’ ले घरेलू बजारमा पानी पनि भन्न पाएन । 
 
यसमा उनको कमेडी कम रोनाधोना बढी थियो । फिल्म हेरेका दर्शकले हाँस्न नपाएको गुनासो समेत पोखेका थिए । अब सलोन आफ्नो ट्रयाक परिवर्तन नगर्ने सोचमा छन् । उनी अभिनीत नयाँ चलचित्र 'सुश्री सम्पत्ति' आउँदो भाद्र २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । 
 
‘बाबु कान्छा’ बक्सअफिसमा फ्लप हुँदा यसको प्रत्यक्ष असर 'सुश्री सम्पत्ति' लाई पर्ने धेरैको पूर्वअनुमान छ । तर, सलोन उक्त फिल्मले राम्रो व्यापार गर्नेमा विश्वस्त छन् । बुधवार राजधानीमा फिल्मको 'हुकुम बक्सियोस्...' बोलको गीत सार्वजनिक कार्यक्रममा उनले फिल्मको कन्टेन्ट बलियो रहेको बताए । 
 
हिट र फ्लपको शृंखलाले आफ्नो करिअरमा ठूलो अर्थ नराख्ने उनको तर्क छ । सलोन भन्छन्, 'मेरा अघिल्ला फिल्म हिट भयो भनेर म टप लेभलमा छु भन्ने पनि लागेन र फ्लप हुँदा म तल झरेँ अब उठ्न सक्दिनँ भन्ने पनि लाग्दैन ।' 
 
उनी आफू अभिनीत फिल्म ‘बाबु कान्छा’ ले अपेक्षाकृत व्यापार नगरेको स्वीकार गर्छन् । 'सुश्री सम्पत्ति' को गीत सार्वजनिक कार्यक्रममा उनका पिता तथा निर्देशक शोभित बस्नेत पनि उपस्थित थिए । ‘बाबु कान्छा’ उनले नै निर्माण र निर्देशन गरेका हुन् । 
 
 
‘बाबु कान्छा’ फ्लप हुँदा करिअरलाई कति घाटा होला ? भन्ने सलोनमाथि तेर्सिएको पत्रकारको प्रश्नको जवाफ निर्देशक बस्नेतले शैली मिलाएर दिए । उनले आफू जान्ने भएर फिल्म बक्सअफिसमा डुबेको स्वीकार गरे । 
 
उनी भन्छन्, 'सलोनलाई हँसाउनु पर्ने रहेछ म जान्ने भएर रुवाउन पठाएछु । किनकी, उसले हँसाएका सबै फिल्म हिट छन् । रोएका फिल्म प्रायः असफल छन् ।' 
 
शोभित थप्छन्, 'उसले कमेडी गरेको फिल्म 'गाजलु', 'ए मेरो हजुर २', 'होस्टेल' हिट भए । सिरियस गर्‍यो 'एउटा साथी' चैट भयो । अहिले ‘बाबु कान्छा’ मा सिरियस बनाएँ फेरि चैट भयो । 'सुश्री सम्पत्ति' पूरै कमेडी छ, फिल्म हिट हुन्छ ।' उनले जसको जे बाटो छ त्यसैमा छाडिदिनु पर्ने बताए । 
Most Visited News (monthly)