Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोबी’ : सिंगलमा चलेन, मल्टिप्लेक्समा चम्कियो

फिल्मीखबर, काठमाण्डौ, 2018/07/25
राम्रो फिल्म बने दर्शकको साथमा कमी नहुने उदाहरण उमेश थापा र कविता गुरुङको बायोपिक फिल्म ‘बोबी’ ले पेश गरेको छ । प्रदर्शनको सुरुवाती केहि दिन औसत रहेको फिल्मको व्यापार दिनप्रतिदिन उकालोलाग्दो छ । 
 
शुक्रवार र शनिवार बाहेक नेपाली फिल्मको व्यापार पट्यारालाग्दो हुन्छ । तर, ‘बोबी’ ले विदा नभएको दिन पनि सुखद कलेक्सन गरिरहेको छ । यो फिल्मलाई सिंगल थिएटरमा दर्शकले पत्याएनन् । मल्टिप्लेक्समा भने दर्शकको 'फ्लो' कम छैन । 
 
हुनत, व्यापारका लागि फिल्म सिंगलभन्दा मल्टिप्लेक्समा टिकिरहनु राम्रो हो । मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई बुधवार ५ शोज दिएको छ । मंगलवार तीन शोज बाढेको थियो । फिल्मले पाएको कुनै पनि शोज दर्शक अभावले रद्द भएका छैनन् । प्रायः सबै शोज हाउसफुल छन् । 
 
‘बोबी’ ले बिहीवार पनि क्यूएफएक्सका तीन हलमा ४ शोज पाएको छ । नामै नसुनेका कलाकार र विना बिदाको दिन नेपाली फिल्मले मल्टिप्लेक्समा ४/५ शोज पाउनु ठूलो कुरा हो ।
 
 
यस्तै, उक्त फिल्मलाई बुधवार राजधानीमा रहेका मल्टिप्लेक्स हल एफक्यूबले १ शो, बिग मुभिजले १ शो र विएसआर मुभिजले २ शोज बाढेका छन् ।
 
असार २९ गते योसँग एकसाथ प्रदर्शनमा आएका तीन फिल्म 'बाबु कान्छा', 'यो पागल मन' र ‘वीराङ्गना’ मल्टिप्लेक्ससँगै सिंगल थिएटरबाट समेत उत्रिसक्दा ‘बोबी’ ले भने दर्शक बढाउँदै गएको छ । सुरुवाती दिनमा 'बाबु कान्छा' र ‘वीराङ्गना’ भन्दा उक्त फिल्मको कलेक्सन निकै कमजोर थियो । 
 
फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले दर्शकको उत्साहजनक साथले उर्जा मिलेको बताए । उनी फिल्मले नेपालबाटै लगानी सुरक्षित गर्नेमा विश्वस्त छन् । उनका अनुसार, राजधानीसँगै चितवन, पोखरा, धरान, इटहरी र दमकमा पनि ‘बोबी’ लाई दर्शकको राम्रो साथ मिलिरहेको छ ।
 
फिल्ममा रियल जोडी उमेश र कविताकै लिड रोल छ । विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल लागयतका कलाकारहरुको पनि यसमा अभिनय छ । 
 
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
Most Visited News (monthly)