Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिँ मुसी चिँ’ अर्थात् चलखेलको कथा

फिल्मीखबर, काठमाण्डौ, 2018/07/25
चिँ मुसी चिँ- यो नाम सुन्दा जो कोहिंलाई बाल्यकालमा खेलिएको खेलको याद आउँछ । सोही नामलाई सापटी लिएर निर्देशक दिनेश श्रेष्ठले फिल्म तयार पारेका छन् । यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्माको लिड रोल छ । 
 
नामले फिल्म कमेडी र बालबालिकाको कथामा निर्माण भएको बुझिएपनि निर्देशक श्रेष्ठ फिल्म म्यूजिकल थ्रिलर जनरामा निर्माण भएको बताउँछन् । उनी भन्छन्, 'बालबालिकाको फिल्म भन्ने त होइन । सबै वर्गले हेर्न मिल्ने बनेको छ । फिल्ममा ठाउँ-ठाउँमा भने गतिलै ट्विस्ट आउँछ ।' 
 
 
फिल्मका कलाकारको क्यारेक्टर सस्पेन्स रहेका कारण भूमिका अगाडि नै खोल्दा दर्शकलाई हेर्न मज्जा नआउने उनको तर्क छ । उनका अनुसार, कथा अनुसार फिल्मको नामाकरण गरिएको हो । चिँ मुसी चिँलाई मुसा-विरालोको खेलको रुपमा लिइन्छ । निर्देशक श्रेष्ठले मुसा-विरालोको खेल जस्तै फिल्ममा चलखेलको कथा रहेको बताए । 
 
कोरियोग्राफी फिल्डमा परिचित अनुहार नव-नायक सुनिल क्षेत्रीले आफ्ना लागि ‘चिँ मुसी चिँ’ को रिजल्टले करिअरमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कहिल्यै हिरो बन्ने सपना नदेखेका उनी कथा र भूमिका राम्रो लागेपछि फिल्ममा जोडिएका रहेछन् । 
 
उनी भन्छन्, 'यो अनुहार लिएर फिल्मको हिरो हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ । यस फिल्ममा निर्देशक श्रेष्ठ ज्यूले क्यूट फेस नभएर परिपक्क अनुहार खोज्नुभएको रहेछ । उहाँले फिल्मका लागि जस्तो पात्रको खोजी गर्नुभएको थियो त्यो ममा देखेर फिल्म अप्रोज गर्नुभयो । आफ्नो तर्फबाट मैले राम्रो काम दिने प्रयास गरेको छु ।'
 
उनले आफ्नो भूमिका खोल्न नचाहेपनि नाम झैँ फिल्ममा काम रहेकोमा ढुक्क छन् । फिल्ममा समावेश 'तिमी माग्छौ भने...' बोलको गीतमा अभिनेता क्षेत्री स्वयंले कोरियोग्राफी गरेका छन् । थाइल्याण्डमा खिचिएको भएतापनि गीतको भिडियोको छायांकन र कोरियोग्राफीमाथि धेरैले औँला उठाएका छन् । 
 
अब उनले आफूले आफैंलाई फिल्मका गीतमा कोरियोग्राफी नगर्ने प्रण लिएका छन् । उनीसँग शाहरुख खान, सलमान खान, टाइगर श्राफको पछाडि कोरस भएर नाच्दाको पीडा र खुसीको क्षण पनि सुन्न लायक छन् । उनी थप्छन्, 'डिआइडीको प्रतियोगीदेखि बलिउडका चर्चित सेलिव्रेटीको पछाडि कोरस भएर धेरै पटक नाचेको छु । त्यसबाट पनि मैले धेरै अनुभव बटुल्न पाएँ ।' 
 
 
अहिले उनी नेपालमै बसेर 'नेपाली ठिटोज्' डान्स ग्रुप खोलेर म्यूजिक भिडियोमा नृत्यदेखि कोरियोग्राफी व्यस्त छन् । 'म बाहिर बसेर किन पसिना बगाउने भनेर नेपाल फर्किएँ । अहिले कामको कमी छैन । म्यूजिक भिडियो आइरहेका हुन्छन् । गर्न सके नेपालमा नै प्रशस्तै सम्भावना रहेछन् भन्ने बल्ल बुझेँ', उनले भने । 
 
भारतीय टेलिभिजन एम टिभिको रियालिटी शो 'स्प्लीटभिल्ला' मा सहभागी भएर नृत्यमा आफूलाई अब्बल प्रस्तुत गरिसकेकी अभिनेत्री अलिशा शर्मा सानैदेखि आफूलाई अभिनेत्री बन्ने रहर रहेको सुनाउँछिन् । ‘चिँ मुसी चिँ’ भन्दा अगाडि आफूलाई अभिनेत्री बन्नका लागि संघर्ष गरिरहेको थिएँ । पर्दामा आउँदा मेरो माइनस प्वाइन्ट नहोस् भनेर रियालिटी शोमा भाग लिएँ, म्यूजिक भिडियो गरेँ', उनले भनिन् । 
 
‘चिँ मुसी चिँ’ मा एउटा डान्सर ब्याकग्राउण्ड भएको अभिनेत्रीको खोजीमा रहेको बखत निर्देशक श्रेष्ठको आँखामा परेकी रहेछिन् अभिनेत्री शर्मा । उनी आफूले चाहेको कुरा प्राप्त गरेकोमा खुसी छिन् । उनी भन्छिन्, 'फिल्मको कथा सुनेपछि छाड्नै सकिनँ । नाम सुन्दा चाहिं कस्तो खालको फिल्म हो भन्ने लागेको थियो तर कथा नाम अनुसारकै छ ।'  
 
'तीन घुम्ती', 'सपना तिम्रो मेरो' जस्ता केहि फिल्ममा काम गरिसकेका अभिनेता सुशान्त कार्की ‘चिँ मुसी चिँ’ ले आफूलाई सफल कलाकार बनाउन सहयोग पुर्‍याउनेमा विश्वस्त छन् । आफ्ना अघिल्ला कुनै पनि फिल्म सफल नभएको स्वीकार गर्दै उनी भन्छन्, 'कथा अनुसार ‘चिँ मुसी चिँ’ बनेको छ । भूमिका कमजोर छैन । सबैले मिहिनेत गरेका छौँ । फिल्म बल्कबस्टर हुन्छ भन्नेमा शंका छैन ।' 
 
उनले कथा सुन्ने वितिक्कै फिल्म गर्न राजी भएको बताए । उनले भने, 'मैले १ वर्षदेखि फिल्म गरिरहेको थिइनँ । केहि फिल्मबाट अफर आएका थिएँ तर गरिनँ । यसको अर्थ म राम्रो स्क्रिप्टको खोजीमा थिएँ, जुन ‘चिँ मुसी चिँ’ मा पाएँ । मैले सोचेको जस्तै फिल्म हो यो ।'
 
 
निर्माता द्वय अरुण कुमार गुरुङ र महेश्वर खत्रीले कथा उत्कृष्ट लागेकाले फिल्ममा लगानी गर्न तयार भएको बताए । दुवै निर्माता आफ्नो लागानी सुरक्षित हुनेमा आशावादी देखिन्छन् । यसमा सुबास भुर्तेल र डब बहादुर गुरुङ पनि निर्मातामा छन् ।  ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
 
शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
Most Visited News (monthly)