Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्ध्याले ‘पण्डित बाजेको लौरी’ बाट देखाइन् सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2018/07/24
सुपरस्टार अनमोल केसी अभिनीत फिल्म 'ड्रिम्स' बाट डेब्यु गर्दैगर्दा अभिनेत्री तथा भिजे सन्ध्या केसीको चर्चा चरोमुसो केहि थिएन । फिल्म हिट हुनुको कारण अनमोललाई मानियो भने अभिनयको सबै क्रेडिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो पोल्टामा पारिन् । 
 
 
उनलाई डेब्यु फिल्म 'हात्ति आयो हात्ति आयो फुस्स' झैँ भयो । तर, उनको हातमा फिल्म पर्न भने छाडेन । उनले दोस्रो फिल्म 'कमलेको बिहे' साइन गरिन् भने तेस्रो फिल्म 'ह्याप्पी न्यू ईयर' मा अनुबन्ध भईन् । 
 
दोस्रो फिल्मको रिलिज अझै अत्तोपत्तो छैन । तेस्रो फिल्म भने गएको वर्ष हलमा लाग्यो । तर, फिल्मलाई दर्शकले पत्याएनन् । शहरका भित्तामा टाँसिएको पोस्टरको समेत फिल्मले पैसा उठाएन । न त उनको अभिनयको तारिफ गर्नेहरु नै भेटिए । 
 
यसबीच, उनी अभिनीत चौँथो फिल्म ‘पण्डित बाजेको लौरी’ गएको शुक्रवारबाट हलमा लागेको छ । उनको अभिनयको तारिफ गर्न नाक खुम्च्याउनेहरु अहिले भने खुलेरै प्रशंसा गरिरहेका छन् । यस फिल्मको सबैभन्दा बलियो पक्षमध्ये उनको अभिनय पनि एक हो ।
 
उनी फिल्मकी मेरुदण्ड हुन् । सन्ध्याको चरित्रले मूल कथालाई मूर्त बनाउन उल्लेखनीय योगदान गरेको छ । उनको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ । बादी महिलाको भूमिकामा उनले जीवन्त अभिनय गरेकी छन् । उनको अभिनयले फिल्मका अन्य सबै पात्र भुलाउँछ । 
 
फिल्म ‘पण्डित बाजेको लौरी’ हेर्ने अधिकांशले सन्ध्याको सुन्दरता, डाइलग डेलिभरी र अभिनयको प्रशंसा गरेका छन् । हुनत, सन्ध्याले सुधार गर्न अझै पनि धेरै बाँकी छ । नेपाली फिल्ममा आफ्नो करिअर सुरक्षित गर्न केहि मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्मले सम्भावना बोकेकी नायिकाको रुपमा हेर्न सक्नेछ । 
 
 
तर, दुर्भाग्य ! ‘पण्डित बाजेको लौरी’ को बक्सअफिस कलेक्सन दयनिय छ । यसको असर उनीमाथि कति पर्ला ? त्यो समयको हातमा छ तर उनको फिल्मी करिअरलाई भने ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरुको आँकलन छ । सन्ध्या अभिनीत पाँचौ फिल्म 'कथा काठमाण्डू' आउँदा असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)