Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हरिहरजी, नायक भन्ने कि ज्योतिष ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/22
दुईटा नाउमा खुट्टा राखेर गन्तव्यमा पुग्न सकिँदैन । जुनसुकै काम होस् वा पेशा, एउटै गर्दा फलदायक हुन्छ । दुईटा नाउमा खुट्टा राखेर यात्रा गर्दा दुर्घटनाको शिकार भएका यहाँ धेरै उदाहरणहरु छन् । 
 
माथिको प्रशंगको जोड्नुको पछाडि चर्चित युवा ज्योतिष हरिहर अधिकारी हुन् । ज्योतिष पेशामा उनले निकै कम उमेरमै ठूलो सफलता हात पारेका छन् । उनले गरेको भविष्यवाणीलाई धेरैले विश्वास गर्ने गर्दछन् । अब उनी ज्योतिष मात्र रहेनन् । फिल्मका नायक बनेका छन् । 
 
फिल्म ‘शुभ लभ’ बाट उनले नायकको रुपमा नेपाली फिल्ममा डेब्यु गर्दैछन् । यसमा उनको जोडी नव-अभिनेत्री कृष्टिन पौडेलसँग बाँधिएको छ । ज्योतिष अधिकारीले यसअघि फिल्म 'ए मेरो हजुर २' बाट नायकको रुपमा डेब्यु गर्ने चर्चा थियो तर पछि उनको ठाउँमा अभिनेता सलिनमान बनियाँ भित्रिए । 
 
 
(युवा ज्योतिष हरिहर अधिकारी)
 
यो फिल्मको कथा उनी आफैंले लेखेका थिए । आफूले लेखेको कथामा निर्मित फिल्म बक्सअफिसमा हिट भएपछि उनलाई हिरो बन्ने रहर झनै बढ्यो । अन्ततः फेरि आफ्नै कथामा उनी हिरो बनेका छन् । ‘शुभ लभ’ लाई सन्तोष बाबु लोहरीले निर्देशन गर्दैछन् । 
अब नायक भन्ने कि ज्योतिष ? फिल्मको घोषण सभामा पत्रकारले ज्योतिष अधिकारीमाथि प्रश्न गरे । उनले छोटो जवाफमा भने, 'नायक ज्योतिष भन्नुहोला ।' दुईटा नाउमा खुट्टा राखेर यात्रा गर्नु राम्रो होला ? फेरि पत्रकारको प्रश्न उनीमाथि तेर्सियो । 
 
उनले भने, 'मान्छे भर्सटायल भएपछि सबै कुरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । भगवानको पुरानो फोटो हेर्ने हो भने भगवान विष्णु र लक्ष्मीको चार-चारवटा हात छ । यो भनेको एउटा मान्छेले धेरै काम गर्नुपर्छ भन्ने आइडेन्टिफिकेसन देखाएको हो । लाइफ एक पटकको हो त्यसैले हामीले सक्ने चिज चाहिँ गर्नुपर्छ ।'
 
आम मानिसको जन्म मितिकै भरमा भविष्यवाणी गर्ने ज्योतिष हरिहरको ठूलो पर्दामा अभिनय कस्तो होला ? सबैका लागि चासोको विषय बनेको छ । अरुको भविष्य राम्रो र नराम्रो बताइरहँदा उनको फिल्मी करिअरको भविष्य कस्तो छ ? यसको भविष्यवाणी भने भविष्यले नै पर्दाफास गर्नेछ । 
Most Visited News (monthly)