Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘भैरे’ को सुखद ओपनिङ, हलमा देखियो क्रेज

फिल्मीखबर, काठमाण्डौ, 2018/07/21
काठमाडौंका २० हलमा बक्सअफिस लागू भएको तेस्रो दिन अर्थात् शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ ले घरेलु बजारमा सुखद सुरुवात गरेको छ । 
 
 
हल-हलमा दयाको क्रेज देखिएको छ । शुक्रवार औषत रहेपनि शनिवार विहानैदेखि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल भरिभराउ देखिएका छन् । 
 
मल्टिप्लेक्समा पनि शनिवार फिल्मले पाएको शो हाउसफुल छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दाबी छ । 
 
 
शनिवार दिउँसो २ बजे फिल्मका कलाकार बुद्धि तामाङ, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, जान्हवी बोहरा, बाल कलाकार अनुभव रेग्मीसँगै निर्देशक एभरेष्ट सूर्य बोहरासहितको टीम राजधानीको गोपीकृष्ण हल पुग्दा कृष्ण र मिरा हलको सबै टिकट विक्रि भइसकेका थिए । 
 
हल पस्न लागेका र फिल्म हेरेर बाहिरिँदै गरेका दर्शकले आँखा सामुन्ने पर्दाका कलाकार देख्दा ताली बजाउँदै न्यानो स्वागत गरे । बाल कलाकार अनुभवलाई 'नाई नभन्नू ल' को 'फुच्चे' भन्दै सेल्फी खिच्न दर्शकको भीड थेगिसक्नु थिएन । 
 
दयाहाङ र अभिनेत्री सुरक्षा पन्त भने हलमा देखिएनन् । फिल्म हेरेर निस्किएका अधिकांशले ‘भैरे’ को बारेमा राम्रो बोलेका छन् । फिल्मको उठाएको विषयवस्तु मन परेको धेरैको प्रतिक्रिया थियो । अभिनेत्री वर्षाले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफू उत्साहित भएको बताइन् । 
 
 
कलाकार बुद्धि तामाङले आफ्नो मिहिनेतलाई रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । अर्का कलाकार विक्रान्त बस्नेत आफ्नो कमब्याक सफल भएकोमा खुसीले दंग देखिन्थे । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाको खुसी निर्देशक एभरेष्ट सूर्य बोहरको अनुहारमा पनि देखिन्थ्यो । 
 
उनले भने, 'हाम्रो मिहिनेतलाई दर्शकले रुचाइदिनु भयो । यो नै हाम्रो सबैभन्दा ठूलो सफलता हो ।' फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले लामो समयसम्म फिल्म  चल्ने निर्देशक बोहराको विश्वास छ । यस्तै, निर्माता प्रेम प्रसाद पौडेलले भने दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए । 
 
फिल्मले शनिबार देशभरी नै शत प्रतिशत व्यापार गरेको वितरक र निर्माताले बताएका छन् । प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह-निर्मातामा छन् । 
 
 
पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका छन् । 
 
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
Most Visited News (monthly)