Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रतासँग मेरो फिल्मको सम्बन्ध मात्र : आर्यन सिग्देल

फिल्मीखबर, काठमाण्डौ, 2018/07/20
अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ, लभस्टोरी फिल्ममा सर्वाधिक रुचाइएको जोडी हो । यी दुईले अभिनय गरेका प्रायः फिल्मले बक्सअफिसमा राम्रै पैसा छापेका छन् । 
 
'मेरो एउटा साथी छ', 'क्लासिक', 'होमवर्क' र 'नोभेम्बर रेन' फिल्म यी दुईले एकसाथ गरेका थिए । लगातार एकपछि अर्को फिल्मले बक्सअफिसमा सफलताको झन्डा गाड्दै गर्दा आर्यन र नम्रतालाई लिएर फिल्म बनाउने निर्माता/निर्देशकको ठूलै भीड थियो । 
 
तर, दुवैले चार फिल्मभन्दा बढी सँगै गरेका छैनन् । 'क्लासिक' पछि सँगै नदेखिएका कारण दर्शक यो कपललाई पुनः एकपटक पर्दामा हेर्न लालयित छन् । दुवैका लागि एकअर्काको जोडी यति लक्की बनिसकेको छ कि यी दुई अन्य अभिनेता/अभिनेत्रीसँग जोडी बाँधेका फिल्म चल्नै छाडेका छन् । 
 
हाल 'प्रसाद' मा व्यस्त अभिनेत्री नम्रताको पछिल्लो रिलिज फिल्म 'पर्व' हो भने साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'कायरा' को दौडधुपमा रहेका आर्यनले गएको वर्ष अभिनेत्री रेखा थापासँग 'रुद्रप्रिया' गरेका थिए । यी दुवै फिल्म बक्सअफिसमा चलेनन् । 
 
 
केहि वर्षयता आर्यन र नम्रताको सम्बन्ध ३६ को आँकडामा रहेको सिनेवृतमा चर्चा छ । आर्यन भने हल्लाको पछाडि नकुद्न आग्रह गर्छन् । उनी भन्छन्, 'म हल्लाको पछाडि लाग्दिनँ । सम्बन्ध फिल्मले नै सपार्ने र टिकाइराख्ने हो । मैले रेखासँग फिल्म नगर्दा सम्बन्ध विग्रिएको भने । फिल्म गरेँ फेरि सम्बन्ध सुध्रिएको भने । नम्रतासँग फिल्म गर्दा सम्बन्ध राम्रो र नगर्दा नराम्रो भन्ने होइन ।' 
 
'मेरो कसैसँग व्यक्तिगत सम्बन्ध छैन । मेरो सम्बन्ध भनेको फिल्म र क्यारेक्टरसँग हो । फिल्म सकिएपछि उहाँ र मेरोको व्यक्तिगत र प्रोफेशनल लाइफ सुरु हुन्छ', उनले भने । 
 
'टकिला सनराइज' मा आर्यनले नम्रतासँग काम गर्न नमानेपछि दुईबीच सम्बन्धमा दरार आएको चर्चा छ । तर, उनी यो कुरा नकार्छन् । आर्यन अगाडि थप्छन्, 'नम्रता फिल्ममा अनुवन्धित पनि भइसकेकी थिइन । तर, त्यो स्क्रिप्ट नै पूरा हुन नसकेपछि फिल्म बन्न सकेन ।' 
 
उनले 'नोभेम्बर रेन' र 'क्लासिक' फेम्ड निर्देशक दिनेश राउतसँग 'पानी बाराबार' भएको खबरमा पनि सत्यता नभएको बताएका छन् । आर्यनले भविष्यमा राम्रो पोजेक्ट मिले नम्रता र निर्देशक राउतसँग काम गर्न आफूलाई कुनै गाह्रो नहुने बताए ।