Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिजको संघारमा के भन्छन् ‘भैरे’ का कलाकार ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/19
अन्ततः अभिनेता दयाहाङ्ग राई स्टारर नयाँ फिल्म ‘भैरे’ भोली शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यस वर्षका लागि उनी अभिनीत यो पहिलो फिल्म हलमा लाग्दैछ । यसमा उनको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । 
 
 
निर्देशक एभरेष्ट सूर्य बोहराले ‘भैरे’ मा फरक किसिमको प्रयास गर्ने कोशिश गरिएको बताए । रिलिजको संघारमा बिहीवार राजधानीमा पत्रकार भेटघाटको क्रममा उनी फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दिने दाबी गर्छन् । 
 
उनी भन्छन्, 'कसैले यो अर्गानिक फिल्म भन्छन् । कसैले कमर्शियल फिल्म भन्छन् । म के भन्छु भने यो शुद्ध नेपाली कथानक फिल्म हो । यसले मनोरञ्जन पनि दिन्छ र देशको समस्या पनि बोल्छ ।' 
 
बाल कलाकार अनुभव रेग्मीले ‘भैरे’ धेरै मिहिनेतले बनाएका कारण राम्रो बनेको बताए । उनले सुटिङ्गको क्रममा टुकुचे पुग्दा आफू विरामी हुँदाको पल पनि सम्झिए । अभिनेत्री वर्षा सिवाकोटी फिल्म राम्रो बनेका कारण दर्शकलाई मन पर्नेमा विश्वस्त रहेको बताइन् । 
 
 
अर्की अभिनेत्री सुरक्षा पन्त, वर्षाको कुरामा सहमती जनाउँछिन् । कलाकार बुद्धि तामाङ्ग युवाहरुले चाहेको खण्डमा आफ्नै देशमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने सन्देश फिल्मले दिन खोजेको बताउँछन् । उनले दर्शक प्रतिक्रिया सुन्न आतुर रहेको बताए । 
 
अभिनेता दयाहाङ्ग राई खिच्नका लागि ठाउँ र मौसमका कारणले गाह्रो भएपनि फिल्ममा त्यसको सही सदुपयोग भएकोमा खुसी छन् । उनी भन्छन्, ‘भैरे’ को बारेमा राम्रा र नराम्रा दुवै कमेन्ट सुन्न म आतुर छु । हाम्रो तर्फबाट मिहिनेत गर्न कुनै कसर बाँकी राखेको छैनौं । अब त्यो मिहिनेत कति सफल भयो त्यो दर्शकले नै भन्नुहुनेछ ।' 
 
 
उनी फिल्म हेरिरहँदा दर्शकले आफ्नै कथा हेरे झैँ महशुस गर्नेमा आशावादी छन् । प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह-निर्मातामा छन् । 
 
पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका छन् । 
 
 
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
Most Visited News (monthly)