Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको ‘मालिका’ गीत : २४ घण्टामा लाख कटेन

फिल्मीखबर, काठमाण्डौ, 2018/07/18
पछिल्लो समय फिल्मको गीतसंगीत निकै ध्यानपूर्वक बनाइने गरिन्छ । किनकी यसैको मध्यमले दर्शक हलसम्म आउने गरेको प्रमाणित भईसकेको छ । प्रचारप्रसारको बलियो माध्यम हुने भएकोले पनि गीतसंगीतलाई फरक तथा आकर्षक बनाउन निर्माताले मोटै रकम खर्च गर्ने गरेका छन् । 
 
 
अचेल जुनसुकै फिल्मका गीतसंगीतलाई यूट्युब रिलिजको २४ घण्टामा लाख भ्यूअर्स कटाउन गाह्रो छैन । लाख मात्र होइन पछिल्लो समय रिलिजको केही महिनामा करोड भ्यूअर्स पनि सामान्य हुन थालेको छ । 
 
यूट्युबमा सर्वाधिक हेरिएको गीतको रेकर्ड फिल्म 'दुई रुपैयाँ' मा समावेश 'कुटुमा कुटु' को नाममा छ । यो गीतलाई अहिलेसम्म साढे ६ करोड बढीले हेरिसकेका छन् । गीतका कारण पनि यो फिल्मले बक्स अफिसमा सुखद कलेक्सन गरेको थियो । 
 
तर, यस वर्षको लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म 'मालिका' को मंगलवार यूट्युब रिलिज भएको 'हल्का माया...' बोलको गीतले २४ घण्टामा १ लाख भ्यूअर्स कटाउन समेत चुकेको छ । 
 
मंगलवार करीब १० बजे यूट्युबमा रिलिज भएको यो गीतलाई समाचार तयार पार्दासम्म ७९ हजारले हेरेका छन् । 'नम्बर वान' नायिकाको ट्याग पाएकी अभिनेत्री रेखा थापा फिचर्ड गीतको भ्यूअर्स २४ घण्टामा लाख पनि नकट्नु आफैंमा अनौठो हो । 
 
गीतको भ्यूअर्सले उनको स्टारडम प्रमाणित गरेको धेरैको तर्क छ । हुनत, अचेल गीत र ट्रेलरको भ्यूअर्स बढाउन फेसबुकमा केहि डलर खर्च गरेर 'बुस्ट' गर्ने चलन छ । 'हल्का माया' को हल्काहल्का मात्र भ्यूअर्स बढेपछि रेखाले पनि आफ्नो आधिकारिक फेसबुकबाट गीत बुस्ट गरेकी छन् । त्यसको हल्का असर भ्यूअर्समा परेको छ । 
 
गीत हेर्नुहोस् :-

 

भ्यूअर्स पट्यारलाग्दो भएपनि कमेन्ट बक्समा भने प्रायःले राम्रो लेखेका छन् । कतिले रेखालाई 'सुपरस्टार' भनेका छन् भने कतिले 'नम्बर वान' नायिकाको फिल्म हेर्नैपर्ने बताएका छन् । केही भने गीत मन नपरेको पनि प्रतिक्रिया जनाएका छन् । 

 
गीतको शब्द र संगीत मिठो भएपनि भिडियोमा कोरियोग्राफी कमजोर छ । रामजी लामिछानेको कमजोर कोरियोग्राफीको असर रेखाको नृत्यमा देखिन्छ । उनले सकिनसकि कम्मर कर्माएकी छन्, जसले भिडियो खुल्न सकेको छैन । 
 
पछिल्लो समय यूट्युबमा राम्रो भ्यूअर्स कमाएका गीतसंगीतका कारण फिल्मको व्यापार केहि माथि हुने गरेका छन् । अब 'मालिका' लाई हलमा दर्शक तान्न 'हल्का माया' ले कति मद्दत गर्ला ? हेर्न बाँकी छ । 
Most Visited News (monthly)