भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता जयकिशन बस्नेत स्टारर फिल्म ‘१२ मासे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ ।
हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यस फिल्ममा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । यसका निर्देशक लय संग्रौला हुन् ।

ट्रेलरमा अनमोल केसी र प्रदीप खड्काको पनि चर्चा गरिएको छ । दुई युवतीको बीचमा बसेर अभिनेता बस्नेत भन्छन्, 'अब तिमीहरु प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेत भनेर पछि लाग्छौं । तर तिनीहरुले तिमीहरुलाई भाऊ नै दिँदैन ।'
नक्कली प्रचण्ड भनेर चिनिने फिल्मका लेखक तथा निर्माता प्रदीप पाठकले ‘१२ मासे’ ले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् । फिल्ममा जयकिशनका अलावा पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोलालगायतको अभिनय रहेको छ ।
फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको ‘१२ मासे’ लाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।
ट्रेलर हेर्नुहोस् :-

