Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मिलनजी, तामझाम गर्दैमा फिल्म चल्छ ?

मनिष अन्जान, काठमाण्डौ, 2018/07/13
 
मिलन चाम्स (निर्देशक)
 
अचेल फिल्म चलाउन निर्माताले केसम्म गर्दैनन् ? 'कोहलपुर एक्सप्रेस' रिलिजताका अभिनेत्री तथा निर्मात्री केकी अधिकारी मम बोकेर घर-घर पुगिन् । 'सुनकेसरी' को समयमा अभिनेत्री ऋचा शर्माले स्कुटरमा राखेर यात्रुलाई गन्तव्यसम्म पुर्‍याइन् । 
 
पछिल्लो समय मुलुकका प्रमुख शहरमा सांगीतिक कन्सर्ट गर्ने प्रचलन खुब मौलाएको छ । यसका लागि नोटको ठूलै बन्डल खर्च हुने हुँदा ठूला ब्यानरले मात्र यो गर्ने आँट गर्दछन् । धेरैजसो त मोफसलका केही ठाउँ गएर पत्रकार भेट्नमै समय खर्चिने गर्छन् । 
 
आक्रामक प्रचार शैलीले फिल्मको व्यापारमा थोरै भएपनि सास भर्ने काम त गर्ला तर निर्माता पूर्ण रुपमा सुरक्षित हुन यो प्रयाप्त भने छैन । यसका लागि फिल्म आफैंमा बलियो हुनुपर्छ । कति निर्मातालाई त एउटा ट्रक लिएर शहरका विभिन्न ठाउँमा कन्सर्ट गर्दैमा 'शत्रु गते' जस्तै सुपरहिट हुन्छ भन्ने भ्रम छ । 
 
 
'बोबी' प्रिमियर
 
फिल्मको प्रचारमा आँधिबेरी ल्याउने निर्देशकमा मिलन चाम्सको नाम सबैभन्दा अगाडि आउँछ । आफू निर्देशित पहिलो फिल्म 'हँसिया' देखि शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छैठौँ फिल्म 'बोबी' सम्म आइपुग्दा उनले नेपाली फिल्मको पुरानो प्रचार शैली परिवर्तन गरे । 
 
राजधानी केन्द्रित फिल्मको प्रचारलाई गाउँ-शहरसम्म पुर्‍याउन चाम्सले महत्वपूर्ण भूमिका खेलेका छन् । उनले फस्ट फिल्म 'हँसिया' को प्रचार गाडीमा व्यानरसहित ट्रेलर बजाएर गरेका थिए । पहिलो पटक फिल्मको प्रिमियरमा बाजा बजाउनका लागि पैसा खर्च गर्ने निर्माता तथा निर्देशक उनी नै हुन् । 
 
दोस्रो फिल्म 'वीर विक्रम' को प्रिमियरमा उनले मोटो रकम तिरेर बाजा बजाएका थिए । तेस्रो फिल्म 'ब्लाइन्ड रक्स' को प्रचार भने सुस्त रह्यो । राजधानी भित्र र बाहिरका केही शहरमा पत्रकार भेटेर चाम्सले प्रचार भ्याएका थिए । चौँथौ फिल्म 'लिलिबिली' को प्रचार फेरि तामझामका साथ भयो । 
 
 
बग्गीमा अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता
 
फिल्मको राजधानीसहित देशका विभिन्न शहरहरुमा मोटो खर्चमा कन्सर्ट गरिएको थियो । पाँचौं फिल्म 'ह्याप्पी डेज' को प्रचार मोफसलमा नगरिएता पनि निर्देशक चाम्सले लिड कलाकार प्रियंका कार्की र अभिनेता सञ्जय गुप्तालाई बग्गीमा चढाएर काठमाडौं घुमाए । 
 
शुक्रवारबाट उनी निर्देशित तथा निर्मित फिल्म 'बोबी' रिलिज भएको छ । उमेश थापा र कविता गुरुङको बायोपिक फिल्म हो यो । यो फिल्मको प्रचारमा पैसा खर्च गर्न फेरि उनी डराएनन् । मोफसलका केही शहरमा चर्चित कलाकारसहित कन्सर्ट गरियो । 
 
उमेश र कवितासँगै गायक राजेश पायल राई, बले, कक्रोज, रक्षा श्रेष्ठलगायत कन्सर्टमा सहभागी भएका थिए । 'बोबी' को मोफसल टुरमा मिलनको खल्तीबाट मोटै रकम निकासा भएको छ । बुधवार राजधानीको कुमारी हलमा फिल्मको प्रिमियर राखिएको थियो । 
 
प्रिमियर लरतरो थिएन । ब्याण्डबाजा बजाएर फिल्मका कलाकारलाई प्रिमियर माहोलमा इन्ट्री गराइएको थियो । मिलनले आफ्नो फिल्मको प्रिमियर होस् वा प्रचार, तामझाम देखाएकै हुन्छन् । प्रश्न यो उठ्छ कि के ब्याण्डबाजा बजाउँदैमा फिल्म चल्छ ? 
 
 
'लिलिबिली' को घोषणा सभामा बडिगार्डको बीचमा अभिनेता प्रदीप खड्का 
 
'लिलिबिली' को घोषणा सभामा अभिनेता प्रदीप खड्कासहित दुई हिरोइनलाई बडिगार्ड दिँदा चर्को आलोचना भएको थियो । उसबेला निर्देशक चाम्सले कलाकारलाई सम्मान दिएको भन्दै आरोपबाट मुक्त भए । 'बोबी' प्रियिमरमा ब्याण्डबाजा बजाउनुको पछाडि पनि कलाकारलाई सम्मान दिएको उनको भनाई छ । 
 
कलाकारलाई वास्तवमै सम्मान हो वा फिल्म चलाउने फर्मुला हो ? यो त उनी नै जान्दछन् । तर, तितोसत्य के चाहीं हो भने बडिगार्ड र ब्याण्डबाजा बजाउँदैमा फिल्मले बक्सअफिसमा कमाल गर्ने भए वर्षमा प्रदर्शन हुने सय बढी फिल्मका निर्माताले घरघडेरी डुबाउनु पर्ने अवस्था आउने थिएन । 
Most Visited News (monthly)