चलचित्र कर्ममा लाग्नेहरूका लागि चलचित्र विकास बोर्ड आकर्षणको थलो हो । बोर्डमा सरकारले नियुक्त गरेको अध्यक्ष वा सदस्यहरू नियुक्त भएको दिन नसकिँदै त्यो पदमा जानका लागि हानथाप सुरु भइहाल्छ । अहिले पनि यो दौड सुरु भएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा विकास बोर्डमा नियुक्त भएकी निकिता पौडेलको नियुक्ति वर्तमान सरकारले खारेज गरेपछि अहिले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ ।
निकिताको नियुक्ति बदर भएसँगै उक्त कुर्सीका लागि सञ्चार मन्त्रालयमा दर्जन बढी चलचित्रकर्मीहरुको नाम पुगिसकेको छ । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।

दिनेश डिसी (सञ्चारकर्मी तथा फिल्म निर्देशक)
अहिले सरकारमा नेकपाको सत्ता भएका कारण चलचित्र विकास बोर्डको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले चलचित्र क्षेत्र र पार्टीलाई योगदान पुर्याएको व्यक्तिलाई नियुक्त गर्नेछन् ।
को होला त अबको नयाँ बोर्ड अध्यक्ष ? सिनेवृतमा अहिले २ व्यक्तिको नाम चर्चामा छ । सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी र कलाकार तथा जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष केशव भट्टराई मध्ये एक बोर्ड अध्यक्षमा नियुक्त हुने प्रवल सम्भावना रहेको छ ।
केशवभन्दा प्रधानमन्त्री ओलीसँग निर्देशक डिसी नजिक छन् । प्रधानमन्त्री ओलीको राजकिय भारत भ्रमण टोलीमा राजेश हमालसँगै उनी पनि थिए । यसकारण बोर्ड अध्यक्षमा उनी नियुक्त हुने सम्भावना बढी देखिन्छ । डिसी अहिले 'रेडियो कान्तिपुर' का स्टेशन म्यानेजर समेत हुन् ।
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्देशक डिसीले बजारमा आफू बोर्ड अध्यक्षमा नियुक्त हुन लागेको हल्ला निराधार रहेको बताएका छन् । उनी भन्छन्, 'बोर्ड अध्यक्षका लागि म पनि दावेदार व्यक्ति हुँ तर अहिले म 'रेडियो कान्तिपुर' को स्टेशन म्यानेजरको पदमा छु । म त्यो महत्वपूर्ण जिम्मेवारी छाड्न सक्दिनँ ।'
उनी थप्छन्, 'बोर्ड अध्यक्षमा जो आएपनि मेरो उहाँलाई सहयोग रहनेछ । अहिलेको सरकारलाई पर्यटन, उर्जा, श्रम र सञ्चारको क्षेत्रमा मेरो टिमले पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु । तर बोर्ड अध्यक्षमा जाने ममा कुनै लालच छैन ।'

केशव भट्टराई (कलाकार तथा निर्माता)
उता, बोर्ड अध्यक्षका लागि चर्चामा रहेका केशव भट्टराईको नाम चार महिना अगाडि नै जनपक्षीय चलचित्रकर्मी संघले मन्त्रालयमा बुझाइसकेको छ ।
बोर्ड अध्यक्षका लागि तपाई नाम लिस्टमा छ रे नी ? फिल्मीखबरको प्रश्नमा उनी भन्छन्, 'संघले मेरो नाम मन्त्रालयमा पठाइसकेको छ । अब मन्त्रीपरिषद्को बैठकले निर्णय गर्न मात्र बाँकी छ । मलाई सरकारले बोर्ड अध्यक्षका लागि योग्य ठाने उक्त जिम्मेवारी सम्हाल्न तयार छु ।'
अब चलचित्र विकास बोर्डको अध्यक्षमा केशव नै हुन्छन् वा अरु कोहीँ ? यसको रिजल्ट आउन अब धेरै दिन नलाग्ला !

