Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हप्तैपिच्छे हलमा सविन

फिल्मीखबर, काठमाण्डौ, 2018/07/03
अभिनेत्री रेखा थापाको फिल्म 'अन्दाज' अभिनेता सविन श्रेष्ठको डेब्यु फिल्म हो । यो फिल्मको सुखद नतिजा पश्चात् उनको हातमा केही वर्ष फिल्म टुटेन । एक फिल्मको सुटिङ नभ्याउँदै उनी नयाँ फिल्म साइन गरिहाल्थे । उनलाई राजेश हमाल बन्न लागेको आरोप पनि लाग्यो । 
 
गुणस्तरतर्फ भन्दा उनी फिल्मको संख्या बढाउन बढी जोसिए । जसको असर यतिबेला देखिन थालेको छ । उनी अभिनीत पछिल्ला फिल्म बक्सअफिसमा हिट छैनन् । कति त उनी स्वयमलाई आफ्ना फिल्म हलमा लागेको समेत पत्तो हुँदैन । 
 
एउटा कलाकारलाई आफू अभिनीत फिल्म बक्सअफिसमा पत्तासाफ हुँदा कति असर गर्छ त्यो अहिले सविनले बुझ्दै गएका छन् । अचेल उनको हातमा ठूला ब्यानरका फिल्म पर्न छाडेका छन्, जुन केही वर्ष अगाडिसम्म बग्रेल्ती फिल्म गर्नुको परिणाम हो । 
 
करिअरको सुई डगमगाउन थालेपछि सविनले आफ्नै लगानीमा अभिनेत्री रेखा थापालाई लिड रोलमा लिएर ‘हिरो रिटर्न्स’ बनाएका छन्, जसको रिलिज अझै अन्योलमा छ । 
 
अभिनेत्री थापालाई लिएपछि फिल्म हिट हुन्छ भन्ने मानसिकता पछिल्ला रिलिज फिल्म 'पलाँस', 'रुद्रप्रिया' र 'डायरी' को नतिजाले लथालिङ्ग बनाएपछि उक्त फिल्म रिलिज गर्न उनी हतार गरिरहेका छैनन् ।  ‘हिरो रिटर्न्स’ प्रदर्शनमा आउन ढिलाई भएपनि सविनका केही फिल्म भने हलमा छुटेका छैनन् । 
 
गएको हप्ता उनी अभिनीत फिल्म 'ए सोल्टिनी' हलमा लागेको थियो । योे फिल्म हलमा लागेको सविनका 'डाइहार्ट' फ्यानले समेत पत्तो पाएनन् । फिल्म बक्सअफिसमा चुर्लुम्मै डुबेको छ । यस्तै, यो हप्ता उनी अभिनीत नयाँ फिल्म रिलिज हुँदैन । 
 
दीपक लामा निर्देशित फिल्म 'चोखो माया' मा सविन लिड रोलमा छन् । उनको अपोजिटमा अप्सना थापा छिन् । सविनलाई त कुन्नी दर्शक भने यो फिल्मकोे विषयमा पूरै अनभिज्ञ छन् । सम्भवतः दर्शकले यस फिल्मको नाम यसअघि सुनेका थिएनन् । 
 
हातमा आएका कुनै पनि फिल्म नछाड्ने बानीले सविनका फिल्म अब एक आपसमा जुध्ने अवस्थामा पुगेका छन् । कलाकारका लागि आफू अभिनीत फिल्म हप्तैपिच्छे हलमा लाग्नु राम्रो भएपनि व्यापारको हिसाबले भने फलदायक हुँदैन । 
 
शहरमा पोस्टर फेरिएला, हलमा फिल्म फेरिएला तर पात्र एउटै हुनेछ । हप्तैपिच्छे हलमा फिल्म लाग्ने र बक्सअफिसमा डुब्दै जाने हो भने सविनको आगामी नयाँ प्रोजेक्ट समेत तहसनहस नहोला भन्न सकिन्न । 
Most Visited News (monthly)