.jpg)
अभिनेत्री करिश्मा श्रेष्ठ लामो समयदेखि अभिनेता सलोन बस्नेतसँगको प्रेममा रमाइरहेकी छिन् । फिल्म 'बाबु कान्छा' को घोषणा सभामा सलोन र करिश्मा दवैले प्रेम सम्बन्धलाई टुंग्याएर मित्रताको सुरुवात गरेको बताएका थिए । तर, त्यो त सब दुनियाँलाई देखाउनका लागि मात्र थियो ।
अहिले उनीहरु प्रेम सम्बन्धमा रहेको 'खुल्लम खुल्ला' बोल्दै हिँडिरहेका छन् । यसको पछाडि एउटा कारण छ । फिल्म 'लभ सब' मा सँगै काम गरेका यी दुईको नयाँ फिल्म 'बाबु कान्छा' यही असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यहाँ फिल्मको पब्लिसिटीका लागि अनेकौं फण्डा अपनाइने गरिन्छ ।
'बाबु कान्छा' को पब्लिसिटी सलोन र करिश्माको प्रेमले चर्काउने सोचमा निर्माण टिम देखिएको छ । बुधवार राजधानीमा फिल्मको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा दुवैले आफूहरु प्रेममा रहेको स्विकार गरे ।
ब्रेकअपको हल्ला चाहिँ किन फैलाइयो त ? पत्रकारको प्रश्नमा सलोनले भने, 'बाबु कान्छा' को घोषणाको समयमा हामीबीच टकराव चलिरहेको थियो । त्यसकारण हामी दुवैले त्यसो भनेका हौं ।'
छेवैमा रहेका पिता तथा निर्देशक शोभित बस्नते छोरा सलोनको लभ लाइफको विषयमा चुप बस्न सकेनन् । छोराको हातबाट माइक खोस्दै उनले भने, 'उनीहरुले झगडा हुँदा होस् वा मिलन हुँदा केही कुरा लुकाएनन् । पछि के होला थाहा छैन अहिलेलाई भने सलोन र करिश्मा प्रेममा छन् ।'
अभिनेत्री श्रेष्ठको 'बाबु कान्छा' दोस्रो फिल्म हो । डेब्यु फिल्म 'लभ सब' बक्सअफिसमा असफल हुँदा उनलाई लिएर निर्माता/निर्देशकले फिल्म बनाउने आँट जुटाउन सकेका छैनन् । दोस्रो फिल्म पनि सलोनसँगै गर्नुले उनलाई अन्य फिल्मबाट अफरै नआएको सिनेवृतमा चर्चा छ ।
.jpg)
फिल्म नगर्नुको पछाडि कतै सलोनको त हात छैन ? करिश्माले पत्रकारको यस प्रश्नमा सानदार जवाफ दिइन्, 'म अहिलेकी केटी हुँ । के सलोनले रोक्यो भनेर रोकिन्छु होला त म ? त्यो त हुँदै होइन ।' आफू नचलेको प्रश्नमा पनि उनले निर्धक्क कुरा राखिन् ।
'कोही पढाईमा राम्रो हुन्छ कोही हुँदैन । सबैजना राम्रो हुन्छ भन्ने होइन । त्यस्तै हो फिल्म इन्डष्ट्री । कोही चल्छ कोही चल्दैन । केही छैन । म चलिनँ', करिश्माले सोझो उत्तर दिइन् । उनी सलोनसँगको अफेयरले आफ्नो करिअरलाई कुनै अप्ठ्यारो नभएको पनि बताउँछिन् ।
हेर्नुहोस् 'बाबु कान्छा' को ट्रेलर :-

