आर्यन सिग्देललाई अभिनेता मात्र हुन् भन्दा अन्याय हुन्छ । उनी निर्माता पनि हुन् । फिल्म 'किस्मत' बाट नेपाली रजतपटमा डेब्यु गरेको उनले 'नोभेम्बर रेन', 'रुद्रप्रिया', 'क्लासिक' फिल्म निर्माण गरिसकेका छन् ।
आफ्नो ब्यानरसँग सहकार्य गर्न तयार भए मात्र बाहिरी ब्यानरका फिल्म गर्ने उद्घोष गरेका आर्यनको आफ्नै होम प्रोडक्शनमा निर्माण भएको नयाँ फिल्म 'कायरा' आउँदो साउन १८ गतेबाट प्रदर्शनमा आउँदैछ । हालैमा यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

यसमा उनको अपोजिटमा अहिलेकी ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । आफ्नो खस्किँदै गएको स्टारडम जोगाउन आर्यनले साम्राज्ञीलाई जोडीको रुपमा चयन गरेको चर्चा छ । लक्ष्मण रिजालले यो फिल्मको निर्देशन गरेका छन् ।
हाल 'कायरा' को दौडधुपमा व्यस्त अभिनेता सिग्देललाई केही वर्षदेखि एउटा प्रश्नले खुब लखेटिरहेको छ, ‘बाबु कहिले बन्ने ?’ २०७१ सालमा उनले सपना भण्डारीसँग लगनगाँठो कसेको थिए । बैबाहिक जीवनमा बाँधिएपछि यस्ता प्रश्न आउनु नौलो होइन ।
केही दिन अगाडि राजधानीमा आयोजित फिल्म 'कायरा' को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको यही प्रश्न आर्यनमाथि तेर्सियो, 'फिल्म त बनाउनुभयो अब सन्तान कहिले प्रोड्यूस गर्ने ?' उनले यसको कुटनीतिक शैलीमा जवाफ फर्काए, '१५/२० वर्ष हुन लाग्यो म फिल्म क्षेत्रमा लागेको । 'कायरा' मेरो अर्को सन्तान हो ।'

