Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र सुदर्शनको पूर्नमिलन, टिमअप होला ?

मनिष अन्जान, काठमाण्डौ, 2018/06/26
अभिनेता प्रदीप खड्काले करीब ४ वर्ष अगाडि नेपाली फिल्ममा भविष्य नदेखेर अष्ट्रेलिया जानका लागि लगेजमा कपडा समेत प्याक गरिसकेका थिए । आफ्नै कम्पनी 'प्रदीप मिडिया' बाट उनले 'स्केप' र 'ठूलो मान्छे' नामक फिल्म बनाएका थिए, जुन बक्सअफिसमा पत्तासाफ भयो । 'स्केप' मा उनकै अभिनय थियो । 
 
दुई फिल्ममा लाखौं पैसा डुबेपछि उनमा न निर्माता न त हिरो बन्ने भुत नै बाँकी रह्यो । अष्ट्रेलियाको अन्तिम तयारीमा रहँदै गर्दा उनलाई फिल्म 'प्रेमगीत' बाट अफर आयो । यो २०७२ सालको कुरा हो । दोधारै दोधारका बीच उनले यो फिल्म गर्ने निर्णय लिए । 
 
 
'प्रेमगीत' पनि फ्लप भए घरबाट अष्ट्रेलिया जानै पर्ने उनीमाथी चर्को दवाव थियो । फिल्म गरिरहँदा उनले निर्देशक सुदर्शन थापालाई आफू अष्ट्रेलिया जान लागेको दुखेसो पोखिरहन्थे । निर्देशक थापाले हौसला दिँदै उनलाई फिल्म हिट हुने आश्वासन दिन छाडेनन् । 
 
२०७२ साल माघ २९ गते फिल्म 'प्रेमगीत' रिलिज भयो । फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेन तर प्रदीप 'स्टार' बने । उनको अभिनय र लुक्सको सर्वाधिक चर्चा भयो । यसपछि उनले करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । अहिले हातमा फिल्मको ताँती मात्र होइन उनी नेपालका महँगा अभिनेता समेत हुन् । 
 
तर, प्रदीपले 'प्रेमगीत' रिलिजपछि निर्देशक थापा र अभिनेत्री पूजा शर्मासँग सम्बन्ध सुमधुर बनाइराख्न सकेनन् । 'प्रेमगीत' टिम दुई टुक्रा हुँदा प्रदीपले निर्माता सन्तोष सेनको हात समाते भने सुदर्शनले पूजा छाडेनन् । करीब ३ वर्षसम्म प्रदीपसँग सुदर्शन र पूजाको बोलचाल ठप्प भयो । 
 
गएको चैतमा प्रदीप आफू अभिनीत फिल्म 'लिलिबिली' को प्रचारमा दौडिरहेका थिए । सोहीक्रममा पुतलीसडकमा रहेको स्टार हलमा पूजासँग उनको एक्कासी जम्काभेट भयो । वर्षौदेखि मनमा बढेर बसेको एकअर्का प्रतिको दुश्मनी भुल्दै दुवैले अंकमाल गरे र भविष्यमा सँगै काम गर्ने वाचा मिडियासमक्ष गरे । 
 
गएको शनिवारबाट अभिनेता खड्का र निर्देशक सुदर्शन थापा बीचको सम्बन्ध पनि सुध्रिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुग्दा दुवै एकअर्काको आमने-सामने भए । वर्षौदेखि एकअर्काको नाम सुन्दा समेत झर्को मान्ने प्रदीप र सुदर्शनले देखेर पनि नदेखेझैँ गरेनन् । दुवैले सहजै हात मिलाए र अंकमाल गरे ।  
 
'सूर्य अवार्ड' को मनोनयन सार्वजनिक कार्यक्रममा प्रदीप अन्य अतिथीसँग भन्दा सुदर्शनसँग बढी गफिएका थिए । एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएपछि दुवै एकै पंक्तिको कुर्सीमा बसे । सुदर्शनले प्रदीपसँग फिल्म 'रोजी' को विवादबारे जानकारी दिए भने प्रदीपले सुदर्शनलाई फिल्म 'रामकहानी' का लागि अग्रिम बधाई दिए । 
 
फिल्म 'प्रेमगीत' को प्रिमियरको दिनदेखि यी दुईको भेट भएको रहेनछ । झण्डै ३ वर्षपछिको भेटमा उनीहरुले धितमरुन्जेल कुराकानी गरे । सुदर्शन भन्छन्, 'हामीबीच कहिले दुश्मनी नै थिएन । हो, भेट चाहिँ हाम्रो ३ वर्षपछि भएको हो । प्रदीपको प्रगति देखेर मलाई निकै खुसी लाग्छ । भविष्यमा म ऊसँग काम गर्न तयार छु ।' 
 
प्रदीपले सुदर्शन थापालाई आमा र सन्तोष सेनलाई बुबा मान्ने गरेको बताए । 'म सधैं सुदर्शन दाईलाई मिस गरिरहेको हुन्छु । पहिलो पटक सेट ज्वाइन गर्दा म निकै डराएको थिएँ । उहाँले सम्झाइ-बुझाई काम गराउनुहुन्थ्यो । उहाँको काम गर्ने शैलीबाट म निकै प्रभावित छु', प्रदीपले भने । 
 
 
'मिडियामा आएका विभिन्न अफवहाका कारण हाम्रो दूरी बढेको हो तर सम्बन्धमा पूर्णविराम लागेको भने थिएन र छैन । हामीबीच कहिल्यै दुश्मनी नै थिएन', उनी अगाडि भन्छन्, 'मलाई के लाग्छ भने दुश्मन सिध्याउने होइन दुश्मनी सिध्याउनु पर्छ । यदी केही थियो भने पनि सक्याउनु पर्छ ।'
 
प्रदीप अब विस्तारै आफूसँग रुष्ट भएका व्यक्तिसँग सम्बन्ध सुधार गर्ने सोचमा देखिन्छन् । पूजा र सुदर्शनसँगै यसअघि उनले 'लिलिबिली' निर्देशक मिलन चाम्ससँग पनि 'पानी बाराबार' रहेको सम्बन्धलाई भुलेर पुनः मित्रताको सुरुवात गरेको थिए । प्रदीपमा एकाएक आएको यो परिवर्तनले अहिले सबैलाई चकित बनाएको छ । 
 
प्रदीपको सुदर्शनसँगको पूर्नमिलन दिगो रहन्छ वा क्षणिक ? यसको जवाफ समयले दिनेछ तर अब दर्शकमा भने यी दुईको टिमअपको प्रतिक्षा रहनेछ । पुनः दर्शक 'प्रेमगीत' जोडी प्रदीप र पूजालाई पर्दामा हेर्ने व्यग्र प्रतिक्षामा छन् ।  
Most Visited News (monthly)