.jpg)
बलिउडमा राज गर्ने तीन खान भनेझैँ केही वर्षयता नेपाली फिल्म क्षेत्रमा तीन अभिनेता अनमोल केसी, प्रदीप खड्का र पल शाहकै बोलबाल छ । यी तीन अभिनेतालाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ ।
गएको महिना 'एनएफडिसी अवार्ड' मा अनमोल र प्रदीपको अंकमालले सिनेवृतमा ठूलै तरंग ल्याएको थियो । यस्तै प्रदीपले गएको दुई महिना पहिला अभिनेता पलसँग पहिलो पटक मिडियामा सँगै अन्तर्वार्ता दिएका थिए ।
तर, पललाई प्रदीपसँगको पहिलो भेट फलिफाप नभएर अभिसाप बन्यो । एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा 'प्रदीप, अनमोल र आफू जस्ता केही स्टार अझै फिल्म क्षेत्रलाई खाँचो रहेको' अभिव्यक्तिका कारण उनी मजाकको पात्र बने । ट्रोलको शिकार भए ।
उक्त अन्तर्वार्तामा प्रदीपले भने सजकतापूर्वक आफ्नो कुरा राखेका थिए । यसको असर अब यी दुईको सम्बन्धमा देखिन थालेको छ । शनिवार राजधानीमा भएको 'सूर्य अवार्ड' को मनोनयन सार्वजनिक कार्यक्रममा पल र प्रदीप दुवै उपस्थित थिए ।
कार्यक्रममा प्रदीपभन्दा पल निकै ढिला पुगेका थिए । मनोनयन पत्र वितरण समारोहमा प्रवेश गरेसँगै उनले चिनेका अधिकांश चलचित्रकर्मीसँग हात मिलाए र अंकमाल गरे । तर, प्रदीप छुटे ।
यस्तैमा रंग पत्रकार दिनेश सिटौलाले पललाई प्रदीपसँग फोटो खिचाउन आग्रह गरे । दुईबीच केही कानेखुसी भयो । स्पष्ट नसुनिएपनि अन्तर्वार्ता चाँहि सँगै नदिने शर्तमा फोटो खिच्न तयार भएको पलको हाउभाउ बोल्थ्यो ।
प्रदीप नजिकै केही चलचित्रकर्मीसँग कफिको चुस्किसँगै गफमा मस्त थिए । पत्रकार सिटौलाले उनलाई पनि पलसँग फोटो खिच्न आग्रह गरे । उनले उक्त प्रस्ताव सहजै स्विकार गरे र मिडियाको क्यामेरा अगाडि उभिए । पलले प्रदीपको बायाँ छेउ च्यापे ।
रोचक कुरा त यी दुईले न हात मिलाए न त अंकमाल नै गरे । करीब १ मिनेट दर्जनौं क्यामेराका अगाडि एउटै पोजमा तश्बिर खिचाएपछि दुवै एक शब्द नबोलि आ–आफ्नै सुरमा लागे ।
.jpg)
'सूर्य अवार्ड' को उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रम २ घण्टासम्म राजधानीको पाँचतारे होटल र्याडिसनमा चलेको थियो । उक्त अवधिमा यी दुई पुनः आमने-सामने भएनन् । प्रदीप अन्तिम रोहको कुर्सीमा निर्देशक सुदर्शन थापासँग बसेका थिए भने पललाई लोकगायक नविन पौडेलले साथ दिएका थिए ।
के एक अन्तर्वार्ताले पल र प्रदीपको सम्बन्धमा दरार ल्याएको हो ? आफू ट्रोलको शिकार हुँदा एक शब्द नबोलेकोमा प्रदीपबाट पलले दूरी त बनाइरहेका छैनन् ? एउटै कार्यक्रममा भेट हुनु तर बोलचाल नहुनुले अनेकौ प्रश्नलाई जन्म दिएको छ ।

