अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ शुक्रवारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको यो फिल्मले हलमा दर्शकको साथ कस्तो पाउँला सबैको चासो केन्द्रमा छ ।
सेन्सर बोर्डबाट 'पिजी सर्टिफिकेट' प्राप्त यो फिल्मका निर्देशक विकाश बस्याल हुन् । यसको कथा पनि उनकै हो । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म यसका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।

यसमा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।
यो फिल्मसँग शुक्रवारबाट खासै प्रचार नगरिएको 'एक्स्ट्रा माया' नामक फिल्म पनि हलमा लागेको छ । सोम कुस्कुमाझी निर्देशित यस फिल्ममा सुस्मिता बुर्लाकोटी, अर्जुन खड्का, सनी सुनवार, सृष्टि भण्डारीलगायतको अभिनय छ ।

