Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोजी’ को सुटिङ चल्नदिने सहमती, नाम परिवर्तन गर्नुपर्ने रोजी परिवारको अडान

फिल्मीखबर, काठमाण्डौ, 2018/06/20
 
गएको हप्ता चलचित्र विकास बोर्डको ठाडो निर्देशनमा अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’ को छायांकन रोकिएको थियो । रोजी महर्जनको हत्या प्रकरणसँग फिल्म आधारित रहेको समाचार बाहिरिएपछि महर्जनका आमा-बुबाले पटक-पटक विकास बोर्डमा फिल्मको सुटिङ रोक्न मौखिक दवाव दिएका थिए ।  
 
तत्काल सुटिङ नरोके प्रहरीमा जाने महर्जन परिवारको निर्णय पश्चात् निरक पौडेल निर्देशित फिल्मको छायांकन बीचमै रोकिएको थियो । बोर्ड अध्यक्ष निकिता पौडेलले ‘रोजी’ टिमलाई फिल्मको कथा महर्जनका आमा-बुबालाई देखाउन र सहमती नहुँदासम्म छायांकन रोक्न निर्देशन दिएकी थिइन् । 
 
बुधवार दिउँसो पुनः चलचित्र विकास बोर्डमा रोजी महर्जनका आमा-बुबा र फिल्म ‘रोजी’ का निर्देशक निरक पौडेल, अभिनेता प्रदीप खड्कासहितको टिम सहमती जुटाउन आमने-सामने भए । महर्जन परिवारलाई निर्माण टिमले फिल्मको पूरा स्क्रिप्ट सुनाएको छ । 
 
झण्डै २ घण्टा लामो वार्तापछि रोजी महर्जनका परिवारले फिल्मको छायांकन सुचारु गर्न बाटो छाडिदिएका छन् । तर, फिल्मको नाम परिवर्तन गर्न र फिल्म बनिसकेपछि पूरा हेर्ने अडान रोजी परिवारको छ । निर्देशक निरक पौडेलका अनुसार, बिहीवारबाट फिल्मको छायांकन पुनः सुरु हुनेछ । 
 
उनी भन्छन्, 'अब फिल्मको छायांकन पूरा गर्नेछौ । यसपछि महर्जनको परिवारलाई फिल्मको केही अंश देखाउने छौ ।' अबको एक महिनापछि रोजी महर्जनको परिवारसँग फेरि ‘रोजी’ टिमको वार्ता हुनेछ । 
 
फिल्मको नाम परिवर्तन हुन्छ ? फिल्मीखबरको प्रश्नमा निरक भन्छन्, 'फिल्मको सुटिङ ‘रोजी’ नामबाटै सकिनेछ । अब एक महिनापछि फेरि हामी उहाँहरुसँग बस्नेछौ । त्यसबेला फिल्मका केही मेजर सिनहरु उहाँहरुलाई देखाउने छौ । फिल्मको नाम परिवर्तन हुन्छ वा हुँदैन त्यो एक महिनापछि मात्र थाहा हुन्छ ।'
 
रोजी महर्जनकी आमाले भने आफ्नी छोरीको कथामा फिल्म बनाउन दिँदै नदिने भन्दै एकोहोरो रटान लगाइन् । 'समाचारमा सत्यघटनामा फिल्म बन्न लागेको भनेर आएको छ । छोरीको नामबाट फिल्म बनाउन दिँदैनौं र बनिसकेपछि हामी पूरा फिल्म हेर्छौँ । त्यसपछि मात्र के गर्ने भन्ने टुंगो लाग्छ', रोजीकी आमाले भनिन् । 
 
 
फिल्मको मुहूर्त सिनमा अभिनेता खड्काले एक संवाद बोलेका थिए, 'मैले रोजीलाई मारेको होइन । मुक्ति दिएको हुँ ।' रोजीका परिवारले यही संवादमा आपत्ति जनाएका छन् । कारण, रोजी महर्जनको हत्या योजना बनाएका उनका प्रेमी सुबास उप्रेतीले पनि अदालतमा यही बयान दिएका थिए । 
 
रोजी महर्जनको परिवारलाई निर्माण टिमले फरक स्क्रिप्ट सुनाएको शंका छ । यसकारण उनीहरु फिल्म तयार भइसकेपछि पूरा हेर्न चाहन्छन् । रोजीका परिवारले बुधवार ‘रोजी’ टिमले सुनाएको स्क्रिप्टमा भने आपत्ति जनाएका छैनन् । 
 
निर्देशक पौडेल पटक-पटक रोजी महर्जनकोे हत्या प्रकरणसँग फिल्मको छेउटुप्पो नमिल्ने भन्दै हिँडिरहेका छन् । तर, रोजीका परिवार यो मान्न तयार छैनन् । ‘रोजी’ को छायांकन सुचारु भएपनि रोजीका परिवारले फिल्म हेरिसकेपछि मात्र रिलिजसँगै नाम परिवर्तन हुने वा नहुने भन्ने कुराको तय हुनेछ  । 
 
‘रोजी’ हुनसक्छ ‘रोज’
 
फिल्मको नाम सुरुमा ‘रोजी’ नभएर ‘रोज’ रहेको खबर छ । रोजी महर्जनका परिवारले नाम परिवर्तन गर्नुपर्ने अडान नछाडे फिल्मको नाम ‘रोज’ हुनसक्ने प्रवल सम्भावना छ । तर, यस विषयमा निर्माण टिमबाट कुनै जानकारी भने प्राप्त छैन । 
Most Visited News (monthly)