असार ८ गतेलाई रिलिज डेट तय गरिएको फिल्म हो ‘तिमी हुन्छौ जहाँ जहाँ’ । ट्रेलर र गीतसंगीतका कारण चर्चामा रहेको यो फिल्ममा 'रानी' फेम अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री मलिना जोशीको लिड रोल छ ।
दोस्रो पटक सहकार्य गरेका यी दुईको केमेष्ट्रीलाई दर्शकले फिल्मको गीत र ट्रेलरमा सुहाएको प्रतिक्रिया दिएका छन् । अब फिल्मको कन्टेन्ट कति बलियो छ ? यसले नै फिल्मको सफलता निर्धारण गर्नेछ । तर, मनिष र मलिनाका लागि भने यो फिल्म चल्नैपर्ने देखिन्छ ।
मनिषको डेब्यु फिल्म थियो 'रानी' । फिल्म बक्सअफिसमा पत्तासाफ हुँदा उनलाई करिअरको सुरुवात विन्दूमा नै ठूलो चोट लाग्यो । यसकारण उनका लागि फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ अग्नीपरिक्षा हो । उता मलिनाले आफ्नो खातामा अहिलेसम्म एउटा हिट फिल्मको संख्या समेत जोड्न सकेकी छैनन् ।
(1).jpg)
हरेक फिल्मबाट 'हिस्स बुढी हरियाँ दाँत' को पात्र बनिरहेकी उनका लागि फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ करिअरको एक महत्वपूर्ण चाबी हो । खिया लागेर बसेको उनको फिल्मी यात्राको ताल्चा यो फिल्मले खोल्नै पर्ने देखिन्छ ।
मनिष र मलिना दुवै उक्त फिल्म व्यावसायिक रुपमा सफल हुनेमा ढुक्क छन् । युवापुस्ता लक्षित यो फिल्मका निर्देशक विकाश बस्याल हुन् । फिल्मको कथा पनि उनकै हो । यो फिल्मले सेन्सर बोर्डबाट 'पिजी सर्टिफिकेट' प्राप्त गरेको छ । अब ‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न १६ वर्ष उमेर मुनीकाले अभिभावक लिएर जानु पर्नेछ ।
मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म यसका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।
यसमा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।

