बलिउडमा डिस्को डान्सरको नामबाट चर्चित अभिनेता मिथुन चक्रवर्ती ६८ वर्षका भएका छन् । १६, जून १९५० मा कोलकातामा जन्मिएका मिथुनको वास्तविक नाम गौरांग चक्रवर्ती हो । तर, यो नाम उनले कहिल्यै फिल्ममा प्रयोग गरेनन् ।
मिथुनको नाम उनको को-स्टार रन्जीता, योगिता बाली, सारिका र अन्य धेरैसँग जोडिएको थियो तर श्रीदेवीसँगको अफेयरको चर्चा सबैभन्दा धेरै भएको थियो । १९८४ मा आएको फिल्म 'जाग उठा इंसान' मा मिथुन-श्रीदेवीले पहिलोे पटक स्क्रिन शेयर गरेका थिए ।

यो फिल्मको छायांकनको बेलादेखि यी दुईको अफेयरको खबर बाहिर आएको थियो । मिथुन चक्रवर्तीले एक अन्तरर्वार्तामा उनले श्रीदेवीसँग गुपचुप विवाह गरेको स्वीकार गरेका थिए । एक न्यूजपेपरले त यी दुईको म्यारिज सर्टिफिकेटसम्म छापेको थियो ।
तर, यी दुईको सम्बन्ध धेरै समय टिक्न सकेन । यसको कारण मिथुनकी श्रीमति योगिता थिइन् । योगिताले मिथुनलाई श्रीदेवीसँग सम्बन्ध राखे सुसाइड गर्ने धम्की दिएकी थिइन् । मिथुनका तीन छोरी र एक छोरा छन् ।
मिथुन बलिउडका ती व्यक्तिहरुमा सामेल छन्, जसको न कुनै फिल्मी ब्याकग्राउन्ड न इन्डस्ट्रीमा कोही गड फादर तर पनि फिल्म इन्डस्ट्रीमा आफ्नो मेहनतबाट एक अलग पहिचान बनाएका छन् ।
अहिलेसम्म उनले ३५० भन्दा बढी फिल्ममा काम गरेका छन् । उनले 'वारदात', 'अविनाश', 'जाल', 'डिस्को डान्सर', 'भ्रष्टाचार', 'घर एक मन्दिर', 'वतन के रखवाले', 'हमसे बढकर कौन', 'चरणों की सौगंध', 'हमसे है जमाना', 'बक्सर', 'बाजी', 'कसम पैदा करने वाले की', 'प्यार झुकता नहीं', 'करिश्मा कुदरत का', 'स्वर्ग से सुन्दर' जस्ता फिल्ममा काम गरिसकेका छन् ।
उनको सबैभन्दा कठिन समय १९९३ देखि १९९८ सम्म थियो । जब उनका हरेक फिल्म लगातार फ्लप भएका थिए । त्यसबेला उनको ३३ फिल्म फ्लप भएका थिए । तरपनि उनको हातमा फिल्म टुटेको थिएन ।

नक्सलाइटदेखि फिल्मसम्मको सफर
निकै कम व्यक्ति जान्दछन् कि मिथुन फिल्म उद्योगमा प्रवेश गर्नु अगाडि एक कट्टर नक्सलाइट थिए । पारिवारिक कठिनाईका कारण उनले आफ्नो बाटो बदले र परिवारमा फर्किए । खासमा, एक घट्नामा उनको एकमात्र भाईको मृत्यु भएको थियो ।
यसपछि मिथुनले अनक्सलाइट आन्दोलनबाट अलग हुने निर्णय गरे । उनले आफ्नो फिल्मी करिअरको सुरुवात १९७६ मा आएको फिल्म 'मृगया' बाट गरेका थिए । यो फिल्ममा दमदार अभिनयका लागि उनलाई सर्वश्रेष्ठ अभिनेताको राष्ट्रीय पुरस्कारबाट सम्मानित गरिएको थियो ।

