नेपालीहरुको महानपर्व दशैंमा प्रायः नेपाली फिल्महरुको बाढी नै लाग्ने गर्छ । तर, जब फिल्म 'छक्का पञ्जा' को सिरिज बन्न थाल्यो तबदेखि यो मिति अन्य फिल्मले आफ्नो नाममा गर्न सकेका छैनन् । यो फिल्म आफैंमा एउटा ब्रान्ड बनिसकेको छ ।
'छक्का पञ्जा' को सिरिजसँग जुध्नु भनेको अन्य फिल्मका लागि 'बाघको मुखमा हात हाल्नु रहर हो' भन्ने गरिन्छ । तर, यस वर्षको दशैंमा केही रोचक हुने भएको छ । 'छक्का पञ्जा ३' सँग मल्टिस्टारर फिल्म 'जय भोले' भिड्न लागेको छ ।
यी दुवै फिल्मको रिलिज टार्गेट दशैं हो । दीपाश्री निरौला निर्देशित 'छक्का पञ्जा ३' र अशोक शर्माको 'जय भोले' एकै मितिमा रिलिज हुने भएपछि यतिबेला सिनेवृतमा ठूलै हलचल मच्चिएको छ । 'छक्का पञ्जा' को सिरिज दशैंको फूलपातीमा रिलिज हुँदै आएका छन् ।
.jpg)
'जय भोले' को रिलिज २०७५ को दशैंमा हुने घोषणा गरिएता पनि फूलपाती भनेर 'तोक' लगाइएको छैन । दशैं घटस्थापनाबाट सुरु हुन्छ । त्यसो भए कहिले त रिलिज ? बिहीवार फिल्मको गीत सार्वजनिक कार्यक्रममा निर्देशक शर्माले दर्शक कन्फ्यूज हुने जवाफ दिए ।
उनी भन्छन्, 'दशैं घटस्थापनाबाट सुरु हुन्छ । त्यो बीचमा फिल्म जहिले पनि रिलिज हुनसक्छ ।' के 'छक्का पञ्जा ३' सँग फिल्म जुध्ने नै हो ? पत्रकारको प्रश्नमा उनी अगाडि भन्छन्, 'दीपकराज गिरी भाईसँग कुरा भइरहेको छ । सकभर नजुधौं भन्ने हो यदी जुध्ने स्थीति आएछ भनेपनि फेस्टिवल मूडमा दुईटा फिल्म दर्शकले हेर्नुहुन्छ जस्तो लाग्छ ।'
घोषणा अगावै अधिकांश हलसँग फिल्म रिलिजका लागि सम्झौता गरिसक्नु भएको छ रे नी ? फेरि पत्रकारको प्रश्न उनीमाथी तेर्सियो । उनले हरेक निर्माताले आफ्नो फिल्म सहज रुपमा कसरी प्रदर्शन गर्ने भनेर सबैभन्दा माथिल्लो स्थानमा राखेर सोच्ने भएका कारण आफूले पनि 'जय भोले' कसरी राम्रोसँग रिलिज गर्ने भनेर तयारी गरिरहेको बताए । 'कुन-कुन हलसँग सम्झौता भयो त्यो चाहिँ अहिले म रिभिल गर्दिनँ', उनले भने ।
१२ वर्षपछि निर्देशक अशोक शर्माले यो फिल्म निर्देशन गरेका हुन् । ‘जय भोले’ मा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नते, स्वस्तिमा खड्का, राजराम पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

